काठमाडौँ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नेताहरूको कार्यविभाजन र पोलिटब्युरो गठनको एजेन्डा नसकिएको बेला आलोपालो सकारको नेतृत्वबारे चर्को वहसको बाहिरिएको छ।
शनिबारका लागि निर्धारित बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली भारत जाने भएपछि तयारी नपुगेको भन्दै आज सोमबारका लागि सारिएको थियो। आइतबार अध्यक्षद्वयले सोमबारका लागि तय गरिएको बैठक मंगलबारलाई सारेका छन्।
बैठक सारे पनि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापासँग नेताहरूको कार्यविभाजनबारे छलफल गरेका थिए।
नेकपाभित्र कुन विभाग कसरी बनाउने र कसलाई नेतृत्व दिने भन्नेमा रसाकस्सी चलेको छ। विशेषगरी संगठनको नेतृत्व गर्ने संगठन विभागमा नेताहरूको आँखा परेको छ। वामदेव गौतम, रामबहादुर थापा, ईश्वर पोखरेललगायत नेता यो विभागका आकांक्षी छन्।
अन्य महत्त्वपूर्ण मानिने विदेश विभाग, राजकीय मामिला विभागका विषयमा पनि सहमति जुटेको छैन। पोलिटब्युरो गठनमा पनि तत्कालीन एमाले र माओवादी केन्द्रले आआफ्नो भागमा पर्ने व्यक्तिको नाम टुंग्याउन सकेका छैनन्।
जेठ ३ मा भ्रातृसंगठनहरूको एकतालगत्तै नेताहरूको कार्यविभाजन र पोलिटब्युरो गठनबारे छलफल गर्ने भनिएको भएपनि त्यसपछि बैठक बस्न सकेको छैन।