‘लस्कर भी तुम्हारा है, सरदार भी तुम्हारा है।
तु झुठको सच बना दो, सरकार भी तुम्हारा है।
ईस दौर कि फरियादी, जाये तो कहाँ जाये
कुछ अख़बारभी तुम्हारा है, दरबारभी तुम्हारा है।
यार अभी दिन तुम्हारा है,
तुम कुछ भी करलो, विपक्ष भी तेरा सहारा है।
काठमाडौँ, २९ पुस – संघीय संसदका सांसद प्रदीप यादवले आफ्नो ट्वीटरमा एउटा हिन्दी कविता ट्वीट गर्दै वर्तमान सरकारलाई गहिरो व्यंग्य गरेका छन्।
संसदको लेखा समितिका समेत सदस्य रहेका यादव वाइडबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचार छानबिन उपसमितिको एक सदस्य हुन्।
उपसमितिले बुझाएको प्रतिवेदनमा यस भ्रष्टाचार प्रकरणमा वर्तमान पर्यटनमन्त्री रबिन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देव, पर्यटन सचिव प्रेमकुमार राई एवं पूर्व सचिव र महाप्रबन्धक सुगतरत्न कंसाकारलाई दोषी ठहर्याई कारवाही गर्नुपर्ने सिफारिस गरेको थियो।
तर, त्यो प्रतिवेदन बलपूर्वक सच्याई मन्त्रीहरु र वर्तमान सचिवलाई चोख्याउने काम गरियो। यद्यपि, लेखा समितिका अधिकांश सदस्य यस कार्यबाट सन्तुष्ट छैनन्।
सांसद यादवले यो हिन्दी कविता ट्वीट गर्नुअघि संसदमा बोल्दै लेखा समितिले दिएको प्रतिवेदन सरकारले लुकाउन खोजेको आरोप लगाएका छन्। यो आरोप लगाएलगत्तै उनले हिन्दीको यो व्यङ्ग्यात्मक कविता ट्वीट गर्दै लेखेका छन्ः
‘लस्कर (संख्या) पनि तिम्रै छ,
नेता पनि तिम्रै छन्,
तिमी झुटलाई साँचो बनाइदेउ,
सरकार पनि तिम्रै छ।
यो समयको याचक,
जाओस् त कहाँ जाओस्?
कँहीकतै सुनुवाई भइरहेको छैन,
केही अखबार पनि तिम्रै छन्,
दरबार पनि तिम्रै हो। साथी,
आजको दिन तिम्रै हो, तिमी जेसुकै गर,
विपक्षी पनि तिम्रै साथमा छ!’
सांसद यादवको यो विलापले पूरा संसद दुईतिहाइ सरकारको बन्धक जस्तै बनेको मर्म दर्शाउँछ।
प्रमुख प्रतिपक्षसमेत वाइडबडी भ्रष्टाचार प्रकरणका सम्बन्धमा चुपचाप लाग्नुले एउटा सांसद प्रदीप यादवले जति चिच्याए पनि सरकार र भ्रष्टाचारीलाई खासै अन्तर पर्दैन।
https://twitter.com/iampradipyadav/status/1084358617342439424
तर, सांसद यादवले अप्रत्यक्ष रुपले चेतावनी दिँदै भनेका छन्, ‘दुईतिहाईको दम्भमा आज जे मन लाग्छ त्यही गर, आजको दिन तिमीहरुको हो। यो सँधै एकनास रहँदैन, भोलि देखा जाएगा!’