काठमाडौँ - प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव माओवादी) का पोलिटव्यूरो सदस्य पदम राईसहितका नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
राईसहितका नेता कार्यकर्तालाई आज आइतवार बिहान १० बजे पार्टी कार्यालय धुम्बाराहीमा नेकपा अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका छन्। नेपाल कम्युनिष्ट पार्टी (विप्लव) माओवादीका पोलिट्ब्युरो सदस्य पदम राईलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले विप्लव नेकपामा आउनै पर्ने बताएका छन्।

को हुन् पदम राई ?
भोजपुरको बोया घर भएका राई जनयुद्धकाल अघिदेखि नै माओवादीमा संगठित थिए। पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए। एकीकृत नेकपा माओवादी विभाजन भएपछि उनी मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा माओवादीमा लागेका थिए। वैद्यको पार्टी पनि फुटेपछि उनी विप्लव समूहमा लागेका थिए।
गत निर्वाचनमा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बम प्रहार गरेको आरोपमा प्रहरीले पक्राउसमेत गरेको थियो। तर, अदालतको आदेशमा उनी रिहा भए। राई विप्लव समूहका जनसरकार उपप्रमुखको जिम्मेवारीमा समेत थिए। जेठ १५ गते गणतन्त्र दिवसको दिन संविधानसभा पदक वितरण समारोहमा उनी सहभागी भएका थिए।

उनी सत्तारुढ निकपाका नेताहरुसँग निरन्तर सम्पर्कमा थिए। यहीबीचमा उनले एक सञ्चार माध्यममा सरकारसँग वार्ता जारी रहेको र त्यो सकारात्मक ढंगले अघि बढेको प्रतिक्रिया दिएका थिए। त्यसपछि पार्टी नीतिविपरीत बोलिएको भन्दै उनलाई निलम्बन गरिएको थियो।
तस्वीर- मुकुन्द कालिकोटे