काठमाडौँ - सरकारले नेपाल कम्युनिष्ट पार्टीलाई राजनीतिक रूपमा प्रतिबन्ध लगाएको करिब तीन महिनाको अवधिमा सो पार्टीका ४ सय १२ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।
सरकारले आपराधिक र विध्वंसात्मक शक्तिका रूपमा परिभाषित गर्दै २८ फागुनमा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्धको निर्णय लिएको थियो।
यसबीचको करिब तीन महिनाको अवधिमा प्रहरीले विप्लव निकट ४ सय १२ जना नेता कार्यकर्तालाई पक्राउ गरेको हो। पछिल्लो समय राजधानीमा नै बमको आतंक मच्चाउने गरी गतिविधि सञ्चालन गरेपछि विप्लवप्रति सरकार थप कठोर बनेको छ ।
सरकारले विप्लवका नेता कार्यकर्तालाई हत्या हिंसाका घटनामा लागे छुट नदिने बताउँदै आएको छ भने यस्ता गतिविधिलाई अमानवीयसमेत भनेको छ।
प्रहरीले पक्राउ गरेका मध्ये ५४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ भने १ सय १४ जना अनुसन्धानको क्रममा रहेका छन् । यस्तै ३ सय ६९ जना नेता कार्यकर्ताविरुद्ध यसबीचमा प्रहरीमा मुद्दा दर्ता भएको छ । यस्तै २ सय २० जना मुद्दा दर्ता भई छुटेका छन् भने ३० जना सोधपुछपछि नै छुटेका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले आपराधिक क्रियाकलापमा संलग्न समूहलाई सरकारकै नीतिअनुसार प्रहरीले कडा निगरानीमा राख्दै आएको बताए। यो समाचार आजको राजधानी दैनिकले छापेको छ।