बुटवल - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार प्रजातन्त्रविरोधी भएको बताउदै पञ्चायत शासनभन्दा निरंकुश बनेको आरोप लगाएका छन्। सरकारले प्रेस, न्यायपालिका र मानवअधिकार आयोगलाई समेत नियन्त्रणमा राख्न खोजेको सभापति देउवाको आरोप छ।
नेपाली कांग्रेस रुपन्देहीको प्रथम सम्मेलनको शनिबार बुटवलमा उद्घाटन गर्दै सभापति देउवाले स्वतन्त्र रुपमा लेख्ने पत्रकारको अधिकार कटौती गर्न सरकारले मिडिया विधेयक ल्याएको बताए। लोकतन्त्रलाई कमजोर बनाउने कुनै पनि काम कांग्रेसलाई मान्य नहुने भन्दै उनले यसविरुद्ध पार्टी एक भएर अघि बढ्नुको विकल्प नभएको बताए।
त्यस्तै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले ओली नेतृत्वको सरकारबाट अब जनताले अपेक्षा गर्ने कुनै ठाउँ नरहेको धारणा राखे। उनले पार्टीका सबै नेता कार्यकर्ता मिलेर कम्युनिष्ट सर्वसत्तावाद आउन नदिन र आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन अहिलेदेखि नै लाग्न सुझाव दिए।
केन्द्रीय सदस्य बालकृष्ण खाँडले ओली नेतृत्वको सरकारबाट संविधान र राष्ट्रियताविपरीत काम भइरहेको जिकिर गर्दै यसबाट मुलुकलाई मुक्त गर्नु पर्ने बताए। यो समाचार कान्तिपुर दैनिकमा छ।