बुटवल – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी अन्तरघातमुक्त हुनुपर्नेमा जोड दिएका छन्। उनले पार्टी अन्तरघातमुक्त भएमा नेपालको पहिलो पार्टी नै कांग्रेस हुने दावी गरे।
नेपाली कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले प्रजातन्त्रका लागि लड्न पनि पार्टी एक ढिक्का हुनु आवश्यक रहेको बताए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रतामाथि अंकुश लगाइ अधिनायकवादी शैलीमा अघि बढ्न खोजेको आरोप लगाए। विश्वबाट लोप हुँदै गएको कम्युनिष्ट नेपालमा सफल हुन नसक्ने भन्दै यो सरकार फाल्न आन्दोलन गर्नु परे पनि कांग्रेस तयार रहेको बताए। ‘कम्युनिष्ट सरकार फाल्न आन्दोलन आवश्यक हुन सक्छ। बुद्धको भूमिबाट प्रजातन्त्रका लागि तयार हुन आह्वान गर्दछु,’ उनले भने।
पार्टी एक भएमा जस्तोसुकै शक्तिलाई पनि पराजित गर्न सकिने भन्दै नेता देउवाले रुपन्देहीबासीलाई अर्को आन्दोलनको तयारीमा जुट्न आग्रहसमेत गरे।