कन्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित बन्द मझगाँउ विमानस्थल पुनः सञ्चालनका लागि सरकारले बजेट विनियोजन नगरेको भन्दै स्थानीय आन्दोलित भएको छन्।
शुक्रबार कन्चनपुरका स्थानीयले ‘मझगाँउ विमानस्थललाई बजेट खोई’ भन्दै महेन्द्रनगर बजारमा विरोध र्याली निकालिएको छ। चुनावको बेलामा मझगाँउ विमानस्थल संचालन गर्ने बाचा गरे पनि कुनै पनि नेताले चुनाव जीतेपछि चुनावी नारालाई भुलेको भन्दै स्थानीयले दबाबमूलक प्रदर्शन गरिएको संघर्ष समितिका सदस्य चन्द्रदेव बडुले बताए।
चुनावताका बेलाका मुख्य मुद्धा बनाएर चुनाव जित्ने र चुनाव जितेपछि विमानस्थललाई बेवास्ता गर्ने गरेको उनीहरुको आरोप छ। सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजजिक गरे पनि मझगाँउ विमानस्थल पुनःसञ्चालनका लागि कुनै पनि बजेट विजियोजन नगरेको भन्दै स्थानीयले विरोध गरेका हुन्।
यता विमानस्थल पुनःसञ्चालनका लागि प्रदेश सरकारले पहल गर्ने सुदूरपश्चिम प्रदेशका उद्योग, वन, पर्यटन तथा वातारण राज्यमन्त्री प्रकाश रावलले बताएका छन्। मन्त्री रावलले प्रदेश सरकारसँग मझगाँउ एयरपोर्ट सञ्चालनका लागि बजेट माग गरिने बताए।
पुरानो मझगाउँ विमानस्थल सञ्चालनका लागि अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिने उनको भनाई थियो। आगामी आर्थिक वर्षमा विमान स्थलको संरक्षण, घेरबार र कालोपत्रेका लागि बजेट माग गरिने बताए।
राज्यमन्त्री रावलले ‘विमानस्थल सञ्चालन हुनुपर्नेमा कसैको दुई मत छैन, त्यसका लागि हाम्रो तर्फबाट सक्दो पहल गरिरहेको छौँ, यद्यपि मझगाँउ विमानस्थल सञ्चालनका लागि केही प्राविधिक समस्या छन्, यसलाई घरेलु विमान स्थलका रुपमा पनि सञ्चालनमा ल्याउँछौँ’ राज्यमन्त्री रावलले भने।
केन्द्र सरकारकाले प्राथमिकतामा मझगाँउ विमानस्थल नपरेकोमा आफ्नो ध्यानार्कषण भएको राज्यमन्त्री रावलको भनाई थियो। मन्त्री रावल कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’बाट विमानस्थल सञ्चालन गर्ने मुख्य मुद्धा बनाएर चुनाव जितेका थिए।
