बुटवल – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले सत्तारुढ दल (नेकपा) भित्र आलोपालो सरकारको नेतृत्व गर्ने कुरा उठ्नु लाजमर्दो भएको बताएका छन्।
उनले एउटै पाटीले संचालन गरेको सरकारको नेतृत्व गरिरहेको नेकपाभित्र आलोपालो गर्ने भन्नु अमार्दित र अस्वाभाविक भएको बताए। उनले दुई पार्टीबीच एकिकरण भएको भन्ने हल्ला मात्र भएको टिप्पणी पनि गरे।
शुक्रबार रुपन्देहीको बुटवलमा संचारकर्मीसंग कुरा गर्दै नेता ‘किरण’ले एउटै पार्टीभित्र पनि सत्ता र पार्टी आलोपालो गरी प्रधानमन्त्री चलाउछौँ भन्नु राम्रो संकेत नभएको बताए। सहमति एक ठाँउमा होला तर एउटै पार्टीमा पनि आलोपालो गर्ने भनेको सरासर जनतालाई झुक्याउने काम हो, उनले भने।
यस्तै नेता ‘किरण’ले सरकारले ल्याएको बजेटले ‘सुखी नेपाली समृद्ध नेपाल’ को खिल्ली उडाएको पनि टिप्पणी गरे। महासचिव वैद्यले बजेटलाई वितरणमुखी तथा छरिए ल्याएको बजेट जस्तो भएको बताए।
उनले संचारकर्मीसंग भने, ‘बजेट वितरण मुखी र छरिएको छ। यस्तो बजेटले कसरी सुखी नेपाली हुन सक्छन्? केही मुठ्ठी भरका कार्यकर्ता समृद्ध होलान् तर आम जनताका विषयमा सरकारले ल्याएको बजेटले केही अर्थ राख्दैन्,’। ‘असन्तुलित बजेटको परिणम महंगी र बेथिती मात्र हो।’ उनले सरकारले बजेट ल्याउँदा चालु बजेटको अवस्थालाई सही ढंगले विष्लेषण गर्न नसकेको पनि बताए।
एक फरक प्रश्नको जवाफमा महासचिव ‘किरण’ले सरकार नयाँ प्रकारको फासीवादी चरित्र तर्फ उन्मुख हुन खोजेको आरोप समेत लगाए। नेता‘किरण’ले मिडियाकाउनशील विधेयक, नगरिकता विधेयक जस्ता विधेयकले सरकारमाथि गम्भिर विचलन देखिएको बताए। यसले नयाँ प्रकारकाे सामन्तबादकाे चिरित्र प्रस्तुत गरेकाे जस्ताे देखिएकाे नेता वैद्यकाे आराेप थियाे।