काठमाडौँ - सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेत्र विक्रम चन्द ‘विप्लव’ लाई वार्ता र शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेका छन्।
बुधबार पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा अध्यक्ष प्रचण्डले आफूसँग नजिक बसेको साथी भएको नाताले शान्तिपूर्ण राजनीतिमा आउदा जुन सुकै स्थान दिन सक्ने बताए।
उनले भने, ‘सबैभन्दा राम्रो राजनीतिक वार्ता र संवादबाट समस्याको हल गर्नु हाे, यसबाहेक उत्तम विकल्प अरू केही पनि छैन, मसँग नजिक बसेको र मैले धेरै माया गर्ने मान्छे विप्लव हो, त्यस कारण तपाई जुन बाटो जान खोजिरहनु भएको छ यो सफल हुँदैन, परिस्थित त्यो छैन, यो ५२ साल होइन, ७६ साल हो, धेरै परिवर्तन भइसक्यो, तपाई हामी मिलेर ल्याएको परिवर्तन हो यो, यसको रक्षागर्नु बाहेक उचित केहि पनि छैन।’
पूर्व-प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग विप्लवलाई वार्तामा ल्याउनुपर्नेमा जोड दिँदै आएकाे र अहिले नै वार्ताको सम्भावना नसकिएको बताए।
उनले राष्ट्र विखण्डनको गतिविधि गर्दै आएका सिके राउतलाई मुलधारको राजनीतिमा ल्याएको स्मरण गर्दै विप्लव पनि वार्ताबाट शान्तिपूर्ण राजनीतिमा आउने संकेत गरेका थिए ।