काठमाडौँ, २९ पुस – संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले वाइडबडी विमान खरिदबारे लेखा समितिले अनुमोदन गरेको प्रतिवेदन लुकाउन खोजिएको आरोप लगाएका छन्।
आइतबार संसद्को विशेष समयमा बोल्दै सांसद यादवले खरिद प्रक्रियामा संलग्न केही मन्त्रीलाई जोगाउन समितिका सभापति नै प्रतिवेदन लुकाउन लागिपरेको भन्दै आपत्ति जनाएका हुन्।
‘प्रतिवेदन किन लुकाइयो? केही मन्त्रीलाई जोगाउन लेखा समितिका सभापतिले प्रतिवेदन अख्तियार पठाउन आलटाल गरिरहनुभएको छ,’ संसद्मा बोल्दै यादवले भने, ‘खुलम्खुला भ्रष्टाचार भएको विषयमा समेत छानबिन गर्न किन आलटाल हुँदैछ?’
सांसद यादव सांसद राजन केसीको संयोजकत्वमा गठित वाइडबडी छानबिन उपसमितिका सदस्य हुन्।
लेखा समितिले पारित गरेको उपसमितिको प्रतिवेदनमा दुईवटा वाइडबडी खरिद गर्दा चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको औँल्याएको छ।
समितिले त्यसमा संलग्न तत्कालीन पर्यटनमन्त्री तथा नेपाल वायुसेवा निगमका पदाधिकारीलाई कारवाहीको सिफारिस गरेको छ।