काठमाडौँ – सरकारले ल्याएको आर्थिक वर्ष २०७६÷०७७ को बजेटलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘क्षमताबिनाको बजेट’ भएको टिप्पनी गरेको छ।
अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार संघीय संसद्मा प्रस्तुत गरेको बजेटलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले वितरणमुखी भएको र क्षमताबिनाको रहेको टिप्पणी गरेको हो।
कांग्रेस सभापति शेरबहादुर देउवाले बजेटमाथि प्रतिक्रिया दिँदै बजेटमा नयाँ कुरा केही आउन नसकेको तथा प्रस्तुत बजेटमा खर्च गर्ने क्षमताबिनाका कार्यक्रम राखिएको टिप्पणी गरे। ‘बजेटमा नयाँ कुरा केही आएन, यो बजेटमा खर्च गर्ने क्यापसिटी नै देखिएन। बजेट वितरणमुखी छ,’ कांग्रेस सभापति देउवाले भने।
उनले सरकारले कार्यान्वयन नै गर्न नसक्ने बजेट ल्याएको समेत दाबी गरे। पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महतले समेत बजेट क्षमताबिनाको, वितरणमुखी र बढी महत्वाकांक्षी भएको बताए। उनले अनुशासनलाई ध्यान नदिई बजेट ल्याइएको र यसले कार्यान्वयनमा प्रश्न उब्जाउने बताए।
‘सरकारले प्रस्तुत गरेको बजेट क्षमताभन्दा निकै ठूलो र वितरणमुखी छ, यो बजेट चालू आवमा खर्च हुने भन्दा ४० प्रतिशत ठूलो छ। यसको दुरुपयोगको सम्भावनासमेत बढी छ,’ पूर्वअर्थमन्त्री महतले राजधानीसँग भने।
बजेटले धेरै कुरा समेट्न खोजेका कारण लक्ष्य एकातिर तर बजेट अर्कैतिर पुगेको डा। महतको भनाइ छ। आवश्यकताका आधारमा भन्दा पनि कार्यकर्ता रिझाउने किसिमबाट बजेट आएको, विगतका कार्यक्रमको निरन्तरता धेरै भएको, नयाँ कार्यक्रम क्षमताबिनाको भएको र बजेटले स्थानीय सरकारको क्षेत्राधिकारलाई ध्यान दिन नसकेको समेत बताए।
कांग्रेस सांसद मीनेन्द्र रिजालले सरकारले बजेटमार्फत लक्ष्य लिएअनुरूपको खर्च धान्ने राजस्व उठाउन नसक्ने दाबी गरे। छाया सरकारका अर्थमन्त्री समेत रहेका नेता रिजालले सरकारले ल्याएको बजेट सजिलो सिरानीमा सुतेजस्तो रहेको टिप्पणी गरे। यो समाचार राजधानी दैनिकले छापेको छ।