काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्रमाथि हमला गर्न शुरू गरेको आरोप लगाएका छन्।
१२औं गणतन्त्र दिवसको अवसरमा बुधबार राजधानीको शान्ति वाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै सभापति देउवाले प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेको आरोप लगाए।
उनले भने, ‘लोकतन्त्रका लागि कांग्रेसले हिजो पनि संघर्ष गरेको थियो, आज पनि गरिरहेको छ र भोलि पनि गर्नेछ, वर्तमान सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न शुरू गरेको छ, त्यसको रक्षाका लागि तयार रहन सबैमा आह्वान गर्दछु।’
‘जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्र नै हुँदैन,’ उनले भने, ‘प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न शुरू गरेकाले लोकतन्त्रको रक्षा गर्न पार्टीका नेता तथा कार्यकर्ता तयार हुनुपर्ने बेला आएको छ।’