काठमाडौँ – भारतका लागि पूर्व नेपाली राजदूत डा. दुर्गेशमान सिंहले भारतमा बहुमतका साथ भाजपाको पुनरोदय भएकोले प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल नीतिलाई निरन्तरता नै दिने बताएका छन्। उनले भने, ‘मोदीले छिमेक नीतिलाई अझै बलियो र मजबुत बनाएर अघि बढाउनेछन्।’
भारतमा मोदीको उदयसँगै नेपाल–भारत सम्बन्ध राजनीतिक तहमा समेत बलियो भएको सुनाउँदै यसले दुवै देशलाई हित गरेको पनि सिंहको दाबी छ। उनले भने, ‘मोदी आफ्नो पहिलो कार्यकालमा चार पटक नेपाल भ्रमणमा आउनुभयो। उहाँले नेपाललाई विशेष महत्व दिनुभएको छ। वास्तवमा भन्ने हो भने उहाँ प्रधानमन्त्री भएपछि भारतले नेपाललाई नयाँ रुपमा महत्व दिएको छ।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सिंहले मोदी प्रधानमन्त्री बन्नुपुर्व नेपाल–भारत सम्बन्ध कर्मचारीतन्त्रले चलाएको भएपनि मोदी आएपछि धेरै राम्रो भएको सुनाए। उनले भने, ‘पहिले हामी भारतसामू निरीह थियौँ, मोदी आएपछि धेरै सुमधुर सम्बन्ध भएको छ। अहिले सम्बन्ध राम्रो छ।’
उनले विगतमा दुई देशबीच भएका सम्झौताहरुलाई हल्काफुल्का रुपमा लिईने गरेका भएपनि अहिले ती सम्झौताहरुप्रति नेपालले आफ्नो चासो देखाउन थालेको र भारतले पनि चिन्ता लिएको जिकिर गरे। नेपालले भारतबाट लाभ लिनेगरि आफूलाई प्रस्तुत गर्नुपर्नेमा पनि उनको जोड छ।
उनले भने, ‘भारतसँगका सबैखाले अवसरहरु लिनको लागि हामीले सदुपयोग गर्नुपर्छ। हामी चुक्नुहुँदैन्।’ उनले नेपाल–भारत परराष्ट्र नीतिमा अब आन्तरिक राजनीति खेलौना बन्न नहुने सुझाव दिए। भारतसँगको सम्बन्धको विषयमा नेपालले राष्ट्रिय सहमति कायम गर्नुपर्ने उनको धारणा छ।
उनले भने, ‘भारतसँगको नेपाल सम्बन्ध अब कुनै पार्टीको या नेताको मात्रै नभएर सम्पूर्ण नेपालीहरुको साझा दृष्टिकोण हुनुपर्छ। हामीले यसमा राष्ट्रिय दृष्टिकोण बनाउन आवश्यक छ।’ मोदीले खोलेको नेपाल–भारत सम्बन्धको राजनीतिक ढोकालाई आगामी दिनमा अझै सशक्त रुपमा लैजानुपर्ने पनि उनले सुझाव दिए।
उनले नेपाल–भारत सम्बन्धमा अहिले बुद्धिष्ट, जानकीलगायतका सर्किटहरु सञ्चालनमा आउने भएकोले यसले पनि दुई देशबीच जनस्तरमा सम्बन्ध बलियो बनाउने बताए। नेपालले पनि भारतसामू बोलेका कुराहरु पुरा गर्नुपर्ने उनको भनाई छ।