काठमाडौँ–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग जनमुक्ति सेनाको ४ वटा कम्पनी भएको बताएका छन्। सोमबार प्रतिनिधिसभाको सर्वाजनिक महत्वको विषयमा बोल्दै गृहमन्त्री थापाले विप्लवले ४ वटा कम्पनी सहितको जनमुक्ति सेनाको गठन गरेको जानकारी गराए।
मन्त्री थापाले संसदमा विप्लवले जनसरकारको रुपमा जनपरिषद्को स्थापना गरेको जानकारी पनि गराए। मन्त्री थापाका अनुसार विप्लवको पहिलो निसाना काठमाडौँ उपत्यका बनाएको र उक्त घटना आईतबार गराएको बताए।
विप्लव समुहले आईतबार काठमाडौको सुकेधारा, घट्टेकुलो र थानकोटमा श्रृंखलाबद्ध विस्फोट गराएको थिए। उक्त विस्फोटमा ४ जनाको ज्यान गएको थियो भने ७ जना घाईते भएका थिए। उक्त घटनामा विप्लवकै कार्यकर्ता मारिएका थिए।
गृहमन्त्रीका अनुसार आइतबार बुढानिलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक जस्ताले छाएको एक तले घरमा रहेको महोत्तरी घर भएका जिव कुमार ठाकुरको पसलभित्रको कोठामा बम विस्फोट भएको थियो। घटनामा एक पुरुषको घटनास्थालमा नै र घाइते ६ मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको छ।
घाइतेहरुमा कपन घर बताउने हरि खड्का, सुरेन्द्र महर्जन र एक जना नाम नखुलेका व्यक्ति रहेका छन्। घटनामा सैलुन पसलमा काम गर्ने छोटु ठाकुरको वीर अस्पतालमा उपचार भइरहेको छ।
यता, घट्टेकुलोको लोकमञ्जरी कार्की तीन तले घरमा भएको विस्फोटमा बझाङका २७ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको छ भने घटनामा घाइते भएका रुकुम जिल्लाका २६ वर्षीय रविन केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
त्यस्तै, आइतबार साँझ नै चन्द्रागिरी–३ मा भएको विस्फोटमा थानकोट वृत्तले मोटरसाइकलमा प्रेसर कुकरको टुक्रासहित घाइते दुई जनालाई फेला पारेको पनि गृहमन्त्री थापाले जानकारी दिए।
घाइते हुनेमा ललितपुरका ३० बुद्ध लामा र विक्रम लामा रहेका छन्। बुद्धको वीर अस्पताल र विक्रम लामाको शहीद स्मारक अस्पतालमा कलंकीमा उपचार भइरहेको छ।
याे पनि पढ्नुस्:
श्रृंखलाबद्ध बम काण्डमा मरेका सर्वसाधारण होइनन्: गृहमन्त्री
गृहमन्त्रीले ‘सर्वसाधारण होइनन्’ भन्दा संसदमा हंगामा, अनागरिक शब्दलाई सच्याए