काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सोमबारको बन्दका लागि राजधानीको श्रृंखलाबद्ध विस्फोटको योजना बनाईरहेको थियो। राजधानीको विभिन्न स्थानमा टाईमबम विस्फोट गर्ने योजना बमोजिम बनाएको टाईम बम १२ घण्टा अगाबै विस्फोट हुँदा विप्लवले ४ कार्यकर्ता गुमाए।
सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना थियो। तर त्यो भन्दा १२ घण्टा अगाबै विस्फोट भयो। आइतबार अपह्रान्न अनामनगर भएको भएको विस्फोट त्यही टाईमरकै कारण भएको देखिन्छ। ४ः१५ मा घरको कोठाभित्र विस्फोट हुँदा विप्लव समूहको विद्यार्थी संगठनका सिटिइभिटी कमिटीका अध्यक्ष प्रज्वल(विशाल) शाहीको मृत्यु भएको छ।
शाही बझाङका हुन्। सो कोठामा सँगै रहेका पश्चिम रुकुमको सानीभेरीका रविन केसी घाइते भएका छन्। उनी सो संगठनको त्रिचन्द्र क्याम्पसका इकाइ अध्यक्ष हुन्।
यस्तैकरिब ४ः१५ वरिपरि नै सुकेधारास्थित सैलुनभित्र विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। विस्फोटको समयमा सैलुनका सञ्चालक छोटेलाल ठाकुरबाहेक नेवाः मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जन, ट्रेड युनियनका अध्यक्ष हरि खड्का, सैन्य विभागका मध्यकमान्ड इन्चार्ज महावीर र अर्का कार्यकर्ता दीपेनलगायत रहेको प्रहरीले जनाएको छ। घाइतेमा एकजना छोटेलाल छन्, मृत्यु क–कसको भयो भन्ने खुलेको छैन।।
सोमबारको नेपाल बन्दलाई लक्षित गरी ग्वार्को, लगनखेल, सानेपा र कोटेश्वरमा प्रेसरकुकर बम राखिएको थियो। ती सबै ठाउँमा राखिएको बम सेनाको टोलीले डिस्पोज गरेको छ। तर, नागढुंगामा भने विप्लव समूहका कार्यकर्ताले लक्षित ठाउँमा नपु¥याउँदै बम विस्फोट भएको छ। गुडिरहेको मोटरसाइकलमा विस्फोट हुँदा बुद्ध लामा र विक्रम लामा घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ, तर कुकरबम बोकेको आरोपमा प्रहरीले कोटेश्वरबाट सातजना पक्राउ गरेको छ ।
सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाइ छ। सुकेधारा र घट्टेकुलोमा एकैपटक विस्फोट भएको थियो। राजधानीका थप चार ठाउँमा बम भेटियो ।
दुवैतिर एकै समयमा आकस्मिक रूपमा बम विस्फोट हुनुको कारणबारे अनुसन्धान केन्द्रित गरिएको काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए। यो समाचार नयाँ पत्रिकाले छापेको छ।