वर्तमान नेपालको बौद्धिक क्षेत्रका एउटा चिरपरिचित नाम हो– प्रा.डा. सुरेन्द्र केसी। डा. केसी नेपाली समाज, इतिहास, राजनीति, समसामयिक घटनालाई नजिकबाट नियाल्ने र सूक्ष्म विश्लेषण गर्ने व्यक्तित्वका रूपमा स्थापित छन्। सम्भवतः डा. केसी बौद्धिक क्षेत्रबाट सरकारको चर्को विरोध गर्ने व्यक्तिको अग्र पङ्तिमा देखिन्छन्। डा. केसी र प्रधानमन्त्री ओलीबीच गत हप्ता भेटवार्ता भएको सूचनाले बौद्धिक एवं राजनीतिक वृत्त गर्माएको छ। यसै विषयलाई लिएर डा. केसीमाथि विभिन्न कोणबाट व्याख्या गर्न थालिएको छ।
कतिले ‘सुरेन्द्र केसी दोहोरो चरित्रका मानिस रहेछन्’सम्म भने। कतिले राजदूत बन्नका निम्ति प्रधानमन्त्रीलाई भेटेका होलान् भनेर आशंका गरे। केहीले भने फरक विश्लेषण गरेको पनि सुनियो। खासमा डा. केसीले प्रधानमन्त्री ओलीलाई किन भेटका रहेछन् र उक्त भेटमा डा. केसी र प्रधानमन्त्री ओलीबीच के—कस्ता कुरा भए? यिनै प्रश्नको जवाफ प्राप्त गर्न प्राडा केसीसँग नेपाली पब्लिकका धनराज वास्तविकले गरेको संक्षिप्त कुराकानी:
गत हप्ता प्रधानमन्त्री र तपाईंबीच भेटवार्ता भएको हो?
– भएको हो।
किन र के कारणले भेट्नु भयो?
– केही कारण थिए र त हामीले प्रधानमन्त्रीलाई संयुक्त रूपमा भेटेका हौँ। मैले सरकारका गल्तीमाथि टिप्पणी र आलोचना गरिरहँदा प्रधानमन्त्री केपी ओली र मेराबीच कुनै सम्बन्ध नै रहँदैन भन्ने हुँदैन। म व्यक्तिगत रूपमा कसैलाई दोष दिन चाहन्नँ। देशको प्रधानमन्त्री हुन्, हाम्रा पनि केही कुरा थिए। ती कुरा भेटेरै राखौँ भनेर बालुवाटार पुगिएको हो। अरू कुनै खास स्वार्थ र सम्झौता भएन। त्यो हुँदैन पनि।
राजदूत बन्नका लागि रातारात डा. केसी बालुवाटार धाउन थाले भन्ने आरोप छ नि?
– यो सरासर गलत हो। म आज जहाँ छु, म जसरी बोल्न सक्छु, यो सबै श्रेय मिडिया, दर्शक, पाठक, विद्यार्थी र शुभचिन्तकलाई जान्छ। म कुनै पदका लागि वा कुनै व्यक्तिगत स्वार्थ बोकेर बालुवाटार गएको होइन।
तपाईंले प्रधानमन्त्रीसँग भेट्नुका कारण पो सोधेको? यति ठूलो आरोप लागिसकेपछि स्पष्ट गर्नुपर्छ कि पर्दैन?
– प्रधानमन्त्रीसँगको भेटमा केही राजनीतिक क्रियाकलापका बारेमा कुरा भएको हो। जुन कुरा हामीले ‘अफ द रेर्कड’ भनेका थियौँ। तर, मिडिया र समाजमा त्यसको गलत व्याख्या गरियो।
तपाईंजस्तो सरकारको तीव्र आलोचक व्यक्तिले एकाएक प्रधानमन्त्रीसँग भेटेर वार्ता गर्नुभयो, अब त्यसलाई ‘अफ द रेकर्ड’ भन्दिने हो भने जसले जुन ढंगबाट यसलाई लिन्छन् त्यही ढंगबाट कुरा आउने नै भयो नि?
– प्रधानमन्त्री र हाम्रा बीचमा भएको सहमति त ‘अफ द रेकर्ड’ नै हो। तर, आज अनेक आशंका उठ्न थालेपछि म यति मात्र भन्न सक्छु, देशमा शान्ति चाहिएको छ। केही राजनीतिक दलमाथि प्रतिबन्ध लागेको छ। अन्य जातीय, धार्मिक नाराहरू लाग्न थालेका छन्। यिनै सन्दर्भहरूलाई राज्यले सम्बोधन गर्न ढिला गर्नु हुन्न भन्ने विषयमा हाम्रो छलफल भएको हो।
यति मात्रै विषय हो भने त किन ‘अफ द रेकर्ड’ भन्नु परेको नि?
– सरकारले आफ्ना आन्तरिक काम गरिराखेको हुन्छ। त्यसले फरक प्रभाव पार्ला कि भन्ने थियो। यहाँभन्दा पहिले जसरी मुलुकमा द्वन्द्व भए, आगामी दिनमा त्यस्तो नहोस्, समयमै उचित निकास निकाल्नुपर्छ भन्ने विषयमै छलफल भएको थियो। यही हो खास भने पनि केही अरू भने पनि। सरकारका अभिप्राय र बाहिरका अभिप्रायलाई हल गर्नुपर्छ भन्ने हाम्रो सुझाव छ।
भनेपछि नेकपा विप्लव र सरकारीबीचको सेतूका रूपमा काम गर्दै हुनुहुन्छ तपाईंहरू?
– हिजोको जस्तै द्वन्द्व सिर्जना नहोस्। असन्तुष्टिहरू समयमै हल गर्नुपर्छ भन्ने हो। जुन दृश्यहरू देखा परेका छन्, यिनीहरूको सम्बोधनमा सबैको कल्याण हुन्छ। यसका लागि सानो प्रयास मात्रै हो। तर, यो भेटवार्ता राष्ट्रिय बहस र चासोको बनिदियो।
आजसम्म के प्रगति भयो त?
– म एउटा उदाहरण दिन्छु, भोजपुरको जुन घटना भयो। त्यसका बारेमा दुईवटा कुरा हामीले सुन्यौँ। बाहिर र भित्र फरक सुनियो। आजसम्म केही प्रगति भएको छैन।
प्रधानमन्त्री र तपाईंहरूबीचको भेटवार्ता त देशका लागि पो रहेछ? यसलाई किन लुकाउन खोज्नुभएको नि शुरुमा?
– लुकाएको होइन। सरकारले यसका बारेमा केही काम गरिरहेको र त्यो वातावरण बिग्रिएला कि भनेर ‘अफ द रेकर्ड’ भनेका थियौं। विभिन्न आशंका उत्पन्न भए। तिनलाई थेग्न नसकिने भएर स्पष्टीकरण दिनुपरेको हो। एउटा/दुईवटा मात्रै समूह र विषय होइनन्। विप्लव माओवादी, केही धार्मिक संघसंस्थाहरू, केही सांसदका कुरा पनि छन्। एउटै विषय मात्र छैन।