काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधान विपरित सरकारले ल्याएका कुनै पनि विधेयक संसदमा अघि बढाउन नदिने चेतावनी दिएका छन्।
प्रमुख सचेतक खाँणले सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयको प्रतिकूल हुने गरी आएका विधेयक संसदबाट फिर्ता नभए सडक आन्दोलनमा जान आफ्नो पार्टी बाध्य हुने पनि स्पष्ट पारे।
पार्टीको राष्ट्रिय जागरण अभियान अन्तरगत आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा गर्न नेपाली कांग्रेसलाई प्रधानमन्त्री केपी ओली आफैंले सडकमा जान बाध्य बनाएको दाबी गरे।
प्रमुख सचेतक खाँणले प्रधानमन्त्री ओलीले संसद र जनप्रतिनिधिहरूको अपहेलना गरिरहेको उल्लेख गर्दै त्यसविरूद्ध आफ्नो पार्टी दृढतापूर्वक उभिन लागेको बताए।
प्रधानमन्त्री ओलीले बाइड बडी विमान खरिद प्रकरणमा आफ्ना मन्त्रीको संलग्नता नरहेको दाबी गरेर भ्रष्टाचारलाई प्रश्रय दिएको प्रमुख सचेतक खाँणको आरोप छ।