काठमाडौँ – विवेकशील साझा पार्टी पाटीले संयोजक उज्वल थापासहितका केन्द्रीय नेताहरुले नयाँ दल दर्ता गराएको विषयले आश्चर्यचकित पारेको टिप्पणी गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा विवेकशील साझा पार्टीका ३८ जना केन्द्रीय सदस्यहरुमध्ये केही केन्द्रिय सदस्यहरुलाई लिएर संयोजक थापाले शुक्रबार निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिएको खबरले आश्चर्यचकित पारेको बताइएको छ।
‘विवेकशील साझा पार्टीका सबै प्रदेश तथा जिल्ला संयोजकहरू आ–आफ्नै जिम्मेवारीमा यथावत क्रियाशील हुनुहुन्छ, निश्चय नै विगत केही समयदेखि पार्टीमा कार्यशैली र कार्यप्रणालीलाई लिएर मतभिन्नताहरु थिए। पार्टीको चरित्र, पार्टी निर्माणको शैली र पार्टीको उद्देश्यमा भिन्नता रहेको विषय समय समयमा सार्वजनिक भइसकेको पनि थियो, नेपालभित्र र बाहिर रहेका लाखौं नेपाली नागरिकले आशा र विश्वासका साथ हेरेको विवेकशील साझा पार्टीमा यस्तो परिस्थिति आउनु दुर्भाग्यपूर्ण कुरा हो,’ विज्ञप्ति भनिएको छ।
पार्टीमा रहेका यस्तै मतभिन्नताहरुलाई सम्बोधन गर्न आगामी पुस ३० गते केन्द्रीय समितिको बैठक बोलाइएको जनाउँदै विज्ञप्तिमा आगामी बैठकमा संयोजक थापा लगायत केन्द्रीय सदस्यहरुले आफ्ना भनाईहरु राखे विश्वास रहेको जनाइएको छ। ‘केही असन्तुष्टि रहेका भए पार्टीमा छलफल गर्नुहुनेछ र पार्टीलाई गतिशील र एकताबद्ध गर्न मद्दत गर्नुहुनेछ। र, केन्द्रिय समितिको बैठकमा संपूर्ण नेताहरुले उदार हृदयकासाथ सकारात्मक योगदान गर्नुहुनेछ। तर संयोजक थापा स्वयंले आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद अवस्था हो,’ विज्ञप्तिमा भनिएको छ।
पार्टीका केही नेताहरुको यस्तो कार्यले वैकल्पिक पार्टी निर्माणको पवित्र उद्देश्यलाई घात मात्र नभएको जनाउँदै स्वयं पार्टी निर्माणमा लामो समयदेखि क्रियाशील युवाहरु र मतदाताप्रति पनि अन्याय भएको बताइएको छ। ‘उहाँहरुले वैकिल्पक पार्टी निर्माणको अभियानमा पुर्याउनुभएको आघात र धोकापूर्ण कार्यको इतिहासले मुल्यांकन गर्ने नै छ,’ विज्ञप्तिमा भनिएको छ।
यात्राको दौरानमा अवरोधहरु आउने जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘तर, अवरोधहरु खुलेपछि यात्राको गति स्वतः तीव्र हुन्छ। यही विश्वासका साथ पार्टीले पौष ३० गते केन्द्रिय समितिको बैठकको तयारी गरेको छ। सोही बैठकले पार्टीको राजनीतिक तथा सांगठनीक अवस्थाको समग्र समीक्षा गर्नुका साथै केन्द्रीय समिति विस्तार गरी आगामी कार्ययोजना र रणनीति तयार गरेर अगाडि बढ्नेछ।’
‘हामीलाई विश्वास छ, सम्पूर्ण शुभेच्छुकहरू पार्टीको पछिल्लो विकसित घटनाक्रमबाट कत्ति पनि विचलित नभई जिम्मेवारीप्रति सचेत रहनुहुनेछ, संपूर्ण पार्टी सदस्यहरु, पार्टी अभियानकर्ताहरू तथा संपूर्ण पार्टी संगठनहरु नियमित रुपमा क्रियाशील रहनेछन्। यस्तो क्रियाशीलता अझ सुदृढ र एकताबद्ध हुनेछ भन्ने हाम्रो विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ।