काठमाडौं २७ पुस – पछिल्लो समय आंतरिक विवाद चर्किएको विवेकशील साझा पार्टी अन्ततः फुटेको संघारमा छ।
२०७४ सालको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनअघि समायोजन भएको तत्कालीन विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीबीच पार्टी एकता भएको थियो। विवेकशील साझा पार्टीका २ संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन दर्ता भएको छ।
३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा चर्चित युवा नेत्री रञ्जु दर्शनादेखि प्रदेश–३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेल पनि समावेश छन्।
फुटेर गएको पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ। थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए।
तर, अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गरेको बताइएको छ।
आफूहरूले भन्दै आएको सुसंस्कृत र वैकल्पिक राजनीति हुँदैन भन्ने लाग्यो र यसरी सँगै बस्नुभन्दा अलग–अलग रुपमा बस्नु बेस भन्ने ठानेर यो निर्णय लिइएको एक नेताले बताएका छन्।