काठमाडौँ – विकसित राष्ट्रहरुको अन्तर्राष्ट्रिय मञ्च जि–२० लाई विश्वव्यापीरूपमा देखिएका दिगो विकासका चुनौतीहरुहरुका सन्दर्भमा आवश्यक सुझाव दिन बनेको बौद्धिक समूह टी–२० को शिखर बैठकमा नेपाली काँग्रेसका सहमाहामन्त्री डा.प्रकाशशरण महतले सम्बोधन गर्ने भएको छ।
शुक्रबारदेखि (मे २४ देखि २७) चार दिनसम्म चल्ने बैठकमा जापानको राजधानी टोकियोमा भईरहेको छ। उक्त शिखर बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा.महतले जि–२० लाई आवश्यक सुझाव दिनका लागि बनेको उक्त बौद्धिक समूह बैठकलाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।
जि–२० समूहले दिगो विकासका लागि विश्वव्यापीरूपमा देखिएका चुनौतीहरुको समाधानका लागि आवश्यक सुझावहरु संकलन गर्न सो बौद्धिक समूहको गठन गरेको हो।
सहमहामन्त्री डा.महतले ती चुनौतीहरुको समाधानका पक्षमा विश्वव्यापी सुशासन लगायतका विषयमा नेपालजस्तो अति कम विकसित राष्टहरुका तर्फबाट धारणा राख्नुहुने छ। सो बैठकमा जि–२० समूहका सदस्य राष्ट्रका तर्फबाट विशेषज्ञहरुको सहभागिता हुने छ। सहमहामन्त्री महत बिहिबार राति नै जापान प्रस्थान गरेका थिए। (रासस)