काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले पञ्चायतकालकाे भन्दा घटिया र नालायक प्रतिबन्ध लगाएको भन्दै प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना गरेका छन्।
स्वतन्त्रताका लागि १४ वर्षसम्म जेल बसेको बताउने प्रधानमन्त्री ओलीलाई आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउन लाज लाग्नुपर्ने तर्क दिएका छन्। हालै महासचिव विप्लवले एक अन्तर्वार्तामा भनेका छन्, ‘आज कांग्रेसले प्रतिबन्ध लगाउनु ठीक भएन भन्छ तर १४ वर्षसम्म यही स्वतन्त्रताका लागि जेल बसेका केपी ओलीले हामीमाथि प्रतिबन्ध लगाउन लाज मान्नुपर्ने हो, त्यो उनले महसुस गरेनन्।’
उनले अगाडि भनेका छन्, ‘हिजो केपी ओलीले आफूमाथिको प्रतिबन्ध फासिवादी हो भन्थे। आज हामीले अन्याय, अत्याचार, भ्रष्टाचार र वैज्ञानिक समाजवादको पक्षमा कुरा गर्दा प्रतिबन्ध लगाउँछन्, यो नालायक प्रतिबन्ध हो।’
उनले भने, ‘वार्ताका बारेमा स्पष्ट कुरा के भनिएको छ भने जनता र राज्य, विद्रोही र सत्ता पक्ष, एउटा राज्य र अर्को राज्य, सङ्घर्षशील शक्ति र दमन गरिराखेको शक्तिका बीचमा वार्ता हुने र भइराखेका छन्। यसको हामी निरपेक्ष विरोध वा निरपेक्ष समर्थन गर्दैनौँ। वार्ता हुँदै हुँदैन भन्ने कुरा होइन र सजिलै भइहाल्छ भन्ने पनि होइन। प्रयोगले के साबित गरेको छ भने समस्याहरू आएपछि, सङ्घर्ष भएपछि, विद्रोह भएपछि वार्ता हुन्छन्। वार्ता पनि राजनीतिको एक भाग हो।’
वास्तवमा नेकपाले गर्न खोजेको सङ्घर्षका बारेमा स्पष्ट पार्दै विप्लवले भनेका छन्, ‘यो क्रान्ति प्रचण्डविरुद्धको लडाइँ होइन, अहिलेका मन्त्रीविरुद्धको लडाइँ पनि होइन, केपीविरुद्धको लडाइँ पनि होइन। यो त पुँजीवादी व्यवस्थाविरुद्धको लडाइँ हो तर उहाँहरू अगाडि आउनुहुन्छ भने कुनै पनि मूल्य चुकाउन तयार छौँ।’
विप्लवले भने, ‘यहाँ इन्काउन्टरका कुरा आएका छन्। हामीलाई गोली हान्ने कुरा आएका छन्। यस्तो हो भने हामी पुलिससँग किन लड्छौँ, सेनासँग किन लड्छौँ? यो राज्यका दलालहरूका विरुद्ध लड्छौँ नि। त्यस समयमा सोच्नुपर्ने हुन्छ।’
भिडियो हेर्नुहोस्
https://www.youtube.com/watch?v=RL_t2u5DNVI