इटहरी – सुनसरीको इटहरी उपमहानगरपालिकाका कर्मचारी आन्दोलित भएका छन्। मेयर द्वारिकलाल चौधरीले आफूहरुमाथि हातपात गरेको भन्दै कर्मचारीहरुले त्यसको विरोध गरेका छन् र बिहीबार विरोध स्वरुप कामकाज ठप्प पारेर कार्यालयमै धर्नामा बसेका छन्।
मेयर चौधरीले बुधबार नगरका सब–ओभरसियर राम खड्कालाई घुस लिएको आरोपमा निष्कासन गरेको र नायव सुब्बा मनोज दाहाललाई कार्यकक्षमै पुगेर हातपात गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन्।
आफूहरु मेयरबाटै असुरक्षित रहेको र यस्तो अवस्थामा काम गर्न नसक्ने भन्दै उनीहरुले बिहीबार नै उपमेयर लक्ष्मी गौतम र प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै उपमेयर गौतमले कर्मचारीप्रति जनप्रतिनिधिले गरेको त्यस्तो व्यवहार असह्य भएको भन्दै जनप्रतिनिधिको तर्फबाट माफी मागेकी छन्।

‘जनताको काम गर्ने कर्मचारीले आन्दोलन गरेर हुँदैन, जनताका धैरे समस्या हुने गर्छन्। यो विषयमा छलफल गरेर समाधान खोज्नुपर्छ,’ उनले भनिन्, ‘त्यो व्यवहारप्रति म माफी माग्न चाहान्छु। तपाइहरु काममा लाग्नुस्।’ यता, कर्मचारीहरुले भने मेयरलाई कानूनी रुपमा कारवाही हुनुपर्ने माग गरेका छन्।