मकवानपुर–प्रदेश नं ३ को प्रदेशसभाको बुधबार साँझ बसेको बैठकले प्रदेशको स्थायी राजधानी तोक्ने विषयको कार्यविधिको प्रक्रिया सञ्चालनमा ल्याउने प्रस्तावलाई सर्वसम्मतिबाट अनुमोदन गरेको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए।
यसैगरी बुधबार नै बसेको दोस्रो बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा विभूषण पदक प्रदान गर्न सिफारिसको व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथि छलफलको लागि प्रस्ताव राखेकाे थियाे।
उक्त विधेयकको प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले देशका लागि मन, वचन, कर्मले योगदान दिने व्यक्ति वा संस्था र निजामती कर्मचारीलाई योगदानको आधारमा मापदण्ड बनाई विभूषण प्रदान गर्दा सबै देशवासीले सम्मान प्रकट गर्न लायक हुनुपर्ने सुझाव प्रस्तुत गरेकाे थियाे।
उनीहरूले विभूषण प्रदान गर्दा योगदान गरिएको भए पनि दलगत स्वार्थलाई हेरी वञ्चित गर्न नहुने र भ्रष्टाचारमा आरोपी, महिला हिंसा, जातीय छुवाछुत प्रथालाई प्रोत्साहन गर्ने व्यक्तिलाई विभूषण सिफारिस गर्न नहुने थप सुझाव राखेकाे थियाे ।
आन्तरिक मामिला तथा कानूनमन्त्री जम्कट्टेलले राष्ट्र र राष्ट्रियताको सम्वद्र्धन गर्ने एवं सबै नेपालीलाई साझारूपमा सम्मान गर्ने विचारबाट प्रेरित व्यक्ति वा समूहलाई योगदान गरेको आधारमा मापदण्ड बनाई निष्पक्ष एवं पारदर्शी ढङ्गबाट विभूषणको सिफारिस गर्ने र विभूषित हुने व्यक्तिलाई वादविवादबाट अलग राखी सम्मानजनक ढङ्गबाट व्यवहार गरिने विश्वास व्यक्त गरेका थिए। (रासस)