काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पोलिटब्युरो गठन तथा केन्द्रीय सदस्यको कार्य विभाजन टुग्यांउने सकस भएको छ। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पोलिटब्युरो गठन तथा केन्द्रीय सदस्यको कार्य विभाजन टुग्यांउने विषयमा निरन्तर छलफल भइरहेको छ।
पार्टी एकता करिब टुंगिन लाग्दा केन्द्रीय सदस्यबाट पोलिटब्युरो गठन र कार्य विभाजन भने भएको छैन। पूर्वएमालेबाट ८१ जना र पूर्वमाओवादीबाट ६६ जना गरी १ सय ४७ जनाको पोलिटब्युरो गठन गर्नुपर्नेमा पूर्वमाओवादीबाट कसलाई पठाउने भन्ने विषयमा प्रचण्डलाई सकस परेको हो।
बुधबार मात्रै बालुवाटारमा दुई अध्यक्ष ओली र दाहालबीच छलफल भएको थियो। तीन घण्टासम्मकाे दुई अध्यक्षले केन्द्रीय सदस्यहरूको कार्य विभाजन र पोलिटब्युरो गठन तथा आगामी बजेटका विषयमा पनि छलफल गरेपनि निष्कर्षमा पुग्न सकेनन्।
पोलिटब्युरो र नेताको कार्यविभाजनमा गृहकार्य नसकिएको महासचिव विष्णु पौडेलले बताए। गृहकार्य सकिनेबित्तिकै सचिवालय बैठक बोलाउने पनि उनले जानकारी दिए। ‘सचिवालय बैठकको मिति तोकिएको छैन, अझै आन्तरिक गृहकार्यको काम भइरहेको छ। त्यो सकिनेबित्तिकै सचिवालयको बैठक बस्छ’, महासचिव पौडेलले भने।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई अध्यक्षबीच ‘वान टू वान’ छलफलसमेत भएको थियो। सरकारले ल्याउन लागेको बजेट, राष्ट्रिय राजनीतिलगायत विषयमा केन्द्रित रहेर छलफल भएको महासचिव पौडेलले जानकारी दिए।
सरकारले जेठ १५ मा बजेट ल्याउँदै छ। सरकार बजेट निर्माणमा छ। त्यसको अन्तिम तयारी भइरहेको छ। यसमा अध्यक्षहरूले छलफल गर्नुभएको हो,’ महासचिव पौडेलले भने, बजेटका अतिरिक्त राष्ट्रिय राजनीति, संगठनात्मक कार्यविभाजनलगायत विषयमा पनि छलफल भएको छ।’
नेकपामा पोलिटब्युरो गठन भएको छैन भने केन्द्रीय सदस्य तथा कतिपय स्थायी कमिटी सदस्यहरूले पनि जिम्मेवारी पाएका छैनन्। साथै विधानमा व्यवस्था भए बमोजिम गठन हुने विभाग गठन भएका छैनन् र तिनीहरूको जिम्मेवारी पनि तोकिएको छैन।