काठमाडौं, २७ पुस — थाइल्याण्डमा हुने महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाली महिला टोलीले चीनको सामना गर्ने भएको छ।
शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोली सहभगिता छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भुटान र म्यान्मार छन्।
नेपालले आफ्नो दोस्रो खेल यही पुस २९ गते मलेसियाविरुद्ध खेल्नेछ। त्यस्तै, तेस्रो खेलमा ३० गते संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्नेछ। समुह चरणको अन्तिम प्रतिस्पर्धा माघ २ गते थाइल्याण्डसँग हुनेछ। समूहमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
नेपाली महिला टोलीको कप्तानी जिम्मेवारी रुविना क्षेत्रीले लिएकी छन्। त्यस्तै, उपकप्तानको भूमिका सीता रानामगरले निभाउने छिन्। त्यसैगरी टोलीको अन्य सदस्यमा करुणा भण्डारी, डोली भट्ट, ममताकुमारी चौधरी, बिन्दु रावल, सरिता मगर र नेरी थापाका साथै इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर रहेका छन्।
वैकल्पिकतर्फ रीताकुमारी कञ्जुनिया, सुमन विष्ट र सवनम राई रहेका छन्। टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका विनोद दासले नेतृत्व गरको नेपाली टोली शुक्रबार थाइल्याण्ड प्रस्थान गर्नेछ।