काठमाडौँ – नेपाली कांग्रेसले संविधान विपरित संसदमा पेश भएका विधेयक र राजनीतिक मुद्दामा संयुक्त रुपमा अघि बढ्न राष्ट्रिय जनता पार्टी (राजपा) लगायतका साना दलसँग सहकार्य गर्ने जनाएको छ।
सरकारले संविधानविरोधी विधेयक ल्याउने र संसद्मा विपक्षी दललाई पेलेरै अघि बढ्ने रवैया देखाएका भन्दै विपक्षी दल कांग्रेस मोर्चा बनाउन आवश्यक भएको बताएको छ।
त्यस्तै राजपा अध्यक्षमण्डलले पनि शनिबार बृहत् लोकतान्त्रिक मोर्चाको आवश्यकतामा जोड दिँदै प्रमुख प्रतिपक्षी कांग्रेससहित साना दलसँग सहकार्य र छलफल गर्ने अनौपचारिक निर्णय गरेको थियो।