काठमाडौँ – राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गरेका हुन्। उक्त पार्टीले विगतदेखि सो प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएकामा सभामुखबाट दुई पटक रुलिङ भइसकेको छ।
नेता यादवले भने, ‘नेपाली जनताको सार्वभौम अधिकार प्राप्त संसद् र सभामुखको रुलिङलाई सबैले मान्नुपथ्र्यो तर हामीले उठाएका विषयमा सभामुखबाट पनि दुई पटक रुलिङ भइसके पनि सरकारले बेवास्ता गर्दै प्रतिवेदन सार्वजनिक गर्न मानिरहेको छैन।’
संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउन आवश्यक रहेको बताउँदै उनले आफूहरूको माग सम्बोधन नगरिए आगामी संसदको बैठक अवरोध हुनसक्ने चेतावनी दिए। प्रतिनिधिसभाको मंगलबारको बैठक प्रारम्भ हुनासाथ राजपाका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुखले नेता यादवलाई बोल्न समय दिएका थिए।
उनको मन्तव्यपछि सभामुख महराले राजपाले उठाउँदै आएको माग सम्बोधन गर्न सरकारको पुनः ध्यानाकर्षण गराएका थिए। (रासस)