काठमाडौँ – प्रतिनिधिसभाका सदस्यद्वय प्रदीप यादव र एकवाल मियाँले गलत सूचनाका कारण तिब्बतसम्बन्धी सम्मेलनमा सहभागिता हुन गएको प्रति दुःख व्यक्त गरेका छन्।
सांसदद्वयले जारी गरेको विज्ञप्तिमा व्यक्तिगत हैसियतमा निजी तवरबाट टर्की, स्वीट्जरल्याण्ड र लाट्भियाको भ्रमणमा गएका बेला लाट्भियाको राजधानी रिगामा कानून निर्माताहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको भन्ने गलत सूचनाका कारणले अनभिज्ञतावश सहभागी हुन पुगेको उल्लेख छ।
‘जब हामीलाई सम्मेलनका बारेमा यथार्थ जानकारी भयो, हामी तत्काल सम्मेलनस्थल छोडी स्वदेश फर्कियौँ, गलत सूचनाको कारणबाट उक्त सम्मेलनमा हाम्रो सहभागिता हुन गएको प्रति हामी दुःखी छौँ’, सांसदद्वय यादव र मियाँले संयुक्तरुपमा हस्ताक्षर गरी जारी गरेको वक्तव्यमा भनिएको छ।
नेपालको संविधान, प्रचलित कानूनले निर्धारण गरेका अन्तर्राष्ट्रिय सम्बन्ध तथा सरकारको एक चीन नीतिप्रति प्रतिबद्धता र दृढ समर्थन रहेको उनीहरुले बताएका छन्। प्रतिनिधिसभा नियमावली २०७५ ले सदस्यका लागि निर्धारण गरेका शर्तबन्देजलगायत पालना गर्नुपर्ने आचार संहितासम्बन्धी व्यवस्थालाई पूर्ण रुपमा पालना गरिने प्रतिबद्धता पनि विज्ञप्तिमार्फत व्यक्त गरिएको छ।
अफूहरुले सोमबारै सभामुख कृष्णबहादुर महरालाई भेटी घटनाका बारेमा यथार्थ जानकारी गराएको संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद मियाँले बताए। गत वैशाख २४ देखि २७ सम्म रिगामा सांसदहरुको तिब्बतसम्बन्धी विश्व सम्मेलन भएको थियो। (रासस)