काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका नेता भीम बहादुर रावलले वालुवाटारलगायत देशभरका सार्वजनिक जग्गा हिनामिना भएको विषयमा निष्पक्ष छानविन गर्न माग गरका छन्।
रिपोर्टस क्लब नेपालले सोमबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रावलले आफ्नै पार्टीका महासचिव विष्णु पौडेलसमेत मुछिएको वालुवाटारस्थित ललिता निवासको जग्गाको पनि सत्य तथ्य छानविन गरेर दोषीलाई कारबाही गर्न माग गरे ।
माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा गृहमन्त्री भएका नेता रावलले त्यसबेला उक्त जग्गाबारे कुनै पनि औपचारिक प्रस्ताव र छलफल नभएको पनि स्पष्ट पारे। उक्त जग्गा सरकारले फिर्ता ल्याउने निर्णय गरेकोमा धन्यवाद दिँदै रावलले फिर्ता ल्याएर मात्रै नहुने र दोषीलाई कानुनी दायरमा नै ल्याउनुपर्ने बताए।
जग्गा प्रकरणबारे सरकारले गरेको छानविन सत्यतथ्य हुनुपर्ने रावलको भनाई थियो। ‘वालुवाटार जस्तो संवेदनशील स्थानको जग्गा व्यक्तिको नाममा जानु आपत्तिजनक छ। सत्य तथ्य पहिचान गरेर दोषीलाई कारबाही गर्नुपर्छ। अब सरकारको छानविनको निष्कर्ष पर्खौँ,’ नेता रावलले भने।
रावलले मिडिया काउन्सिल विधेयकमा भएका विवादित विषयमा गहन छलफल गर्नुपर्ने पनि बताए। रावलले संविधानमा भएको प्रेस स्वतन्त्रताको व्यवस्थालाई मनन गर्दै विधेयकमा भएका दण्ड सजायँसम्बन्धी व्यवस्थाबारे गहन छलफल गर्नुपर्नेमा जोड दिए।
सरकारले वैशाख अन्तिम साता संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकका कारण प्रेस स्वतन्त्रता र सूचनामा अंकुश लाग्ने अवस्था उत्पन्न भएको भन्दै मुलुकभरका संचारकर्मी आन्दोलनमा होमिएका बेला नेता रावलले संचारकर्मीका अधिकार कुण्ठित गर्न नहुनेमा जोड दिएका हुन्।