काठमाडौँ, २७ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने बताएका छन्। २९७औँ पृथ्वी जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्नेमा जोड दिएका छन्।
‘उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो। पृथ्वीनारायणले शुरु नगरेको भए वा शुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रूपमा विश्व मानचित्रमा नेपाल उभिनै सक्ने थिएन,’ प्रधानमन्त्रीले भनेका छन्, ‘राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यसबेला विश्वव्यापी रूपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने पनि थिएन।’
प्रधानमन्त्री ओलीले नेपालीको गौरवशाली इतिहासको अत्यन्त महत्वपूर्ण घटनाक्रमका नायक पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्।
‘उहाँले नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, सांस्कृतिक लगायतका अनेक विविधताका बीच मजबुत एकताको आधार तयार गर्नुभयो,’ शुभकामना सन्देशमा भनिएको छ, ‘अनेकताबीचको एकताको गौरवमय परम्पराको बीजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको थियो। आज अनेकताबीचको एकता नेपालको पहिचान बनेको छ।’
संसारका अधिकांश देश उपनिवेशवादको चङ्गुलमा परेका बेला पनि स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान बिर्सन नसकिने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
‘पृथ्वीनारायण शाहको स्मरण गर्दै गर्दा प्रतीकात्मक रूपमा एकीकरणको अभियानमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने असंख्य ज्ञात–अज्ञात योद्धाहरूप्रति समेत हामी श्रद्धाञ्जलि व्यक्त गरिरहेका छौँ,’ ओलीले भनेका छन्, ‘पूर्खाले रगत, पसिनाबगाएर निर्माण गरेको स्वतन्त्र, सार्वभौम र अखण्ड नेपालको राष्ट्रिय अक्षुण्यताप्रति हामी सदैव गौरव गर्दछौँ।’
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादतर्फ उन्मुख भएको उल्लेख गर्दै ओलीले हरेक नागरिकका लागि संविधानले नै समान अधिकार, सुरक्षा र सम्मानसहितको समतामूलक समाज सुनिश्चित गरेको बताए।
‘हामी राज्य सञ्चालनका आधुनिक लोकतान्त्रिक विधिअनुरूप अघि बढिरहेका छौँ। आजको युगमा अधिकारसम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानका आधार हुन्,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा लेखिएको छ।