काठमाडौँ, २६ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन्।
त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो।
मन्त्री कोनो नेतृत्वको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल सरकारको विकास निर्माणका प्राथमिकता, कृषि क्षेत्रको आधुनिकीकरण, ऊर्जा उत्पादन, पूर्वाधार विकासलगायत क्षेत्रमा सहायताका निम्ति अनुरोध गरेका छन्।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईका अनुसार ओलीको अनुरोधलाई सकारात्मक रुपमा लिएको र जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक जस्ता क्षेत्रीय सङ्गठनको विकास हुनुपर्नेमा जोड दिँदै मन्त्री कोनोले जापानले सहयोग गर्ने पनि बताउनु भएका छन्।
भेटमा सूर्यविनायक–धुलिखेल सडक विस्तार, कलङ्की–नागढुङ्गा सुरुङमार्ग निर्माण, नेपाली श्रमिकलाई जापानमा रोजगारी प्रदान गर्नेलगायत पारस्परिक सहयोगका क्षेत्रबारे पनि विचार विमर्श भएको सल्लाहकार भट्टराईले बताए।
नेपालसँग श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा काठमाडौँ आउने तथा नेपाल र जापानबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रवर्द्धन र विशेषगरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त भएको उनले जानकारी दिए।