काठमाडौँ - पोलिट ब्यूरोको गठन र केन्द्रीय सदस्यहरुको कार्य विभाजन तथा एकताको बाँकी काम टुङ्गो लगाउन आइतबार बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोली मङ्गलबार बस्ने भएको छ। शीर्ष नेताहरूको कार्य व्यस्तता र कार्य सूचीमा तयारी अभावका कारण बैठक सरेको हो।
सचिवालयको औपचारिक बैठक नबसे पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य नेताहरुबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक भेट भएको थियो।
केन्द्रीय सदस्यमध्ये पोलिट ब्यूरो सदस्यको चयन, केन्द्रीय सदस्यहरुको कार्य विभाजन, केन्द्रीय निकायको एकताका विषयमा पार्टीमा छलफल चलिरहेको छ। यही जेठ २ गतेको सचिवालय बैठकले जनवर्गीय सङ्गठनको संयोजक, सहसंयोजक र केन्द्रीय सदस्यहरूको सङ्ख्या निर्धारण गरेको थियो।