काठमाडौँ, २६ पुस – वाइडबडी विमान खरिद प्रकरणमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्र अधिकारी अन्ततः पदबाट राजीनामा दिने मुडमा पुगेका छन्।
बौद्धिक जगतदेखि सामाजिक सञ्जालसम्म वाइडबढी विमान खरिद प्रकरणमा निरन्तर चौतर्फी आलोचना भएपछि मन्त्री अधिकारी राजीनामा दिने मुडमा पुगेका हुन्। अधिकारी निकट श्रोतअनुसार आलोचना तीव्र हुँदै गएपछि उनी राजीनामा दिने मुडमा पुगेका हुन्।
पुस २५ गते मन्त्री अधिकारीका निकटस्थ व्यक्तिहरु राजधानीको होटल अन्नपूर्णमा बसेर उनलाई यस प्रकरणबाट सुरक्षित अवतरण गराउन चाँडै नै राजीनामा गराउनेमा एकमत भएको श्रोतले बतायो।
लेखा समितिद्वारा गठित उपसमितिले विमान खरिद प्रकरणमा मन्त्री अधिकारीसहित ७ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो। तर, लेखा समितिले त्यसलाई सच्याएर ‘मन्त्रीहरुको नैतिक जिम्मेवारी लिनुपर्ने’ मात्रै भनेपनि आम जनमानसमा उनीप्रति अविश्वास बढ्दै गएको देखिन्छ।
यही अविश्वासका कारणले मन्त्री अधिकारीका निकटस्थ व्यक्तिहरु पनि उनको परोक्षमा आलोचना गरिरहेका छन्। वाइडबडी खरिद प्रकरणमा आलोचित भएपछि उनले पत्रकार सम्मेलन गरी आफुलाई बदनाम गराउने नियतले अनियमितताको आरोप लगाइएको जिकिर गरेका थिए।
लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी खरिदमा भएको अनियमितिबारे छानबिन गर्दै पर्यटन मन्त्री रबिन्द्र अधिकारीसहित पूर्वमन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्रनारायण देवमाथि छानबिन गर्न अख्तियारलाई सिफारिस गर्ने निर्णय गरेको प्रतिवेदन लेखा समितिलाई बुझाएको थियो।
नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, पर्यटन मन्त्रालयका सविच कृष्णप्रसाद देवकोटा, तत्कालीन पर्यटन सचिव एवं हालका गृहसचिव प्रेमकुमार राई र शंकर अधिकारीमाथि छानबिन गर्न निर्देशन दिने गरी उपसमितिले प्रतिवेदन तयार पारेको थियो।
तर, उपसमितिले लेखा समितिलाई आफ्ना प्रतिवेदन बुझाएलगत्तै सत्तारुढ दलका नेता र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा सहमति भएपछि प्रतिवेदन सच्याइयो।
सच्याएको प्रतिवेदनले गृहसचिव राईलाई उन्मुक्ति दिँदै पर्यटनमन्त्री अधिकारी एवं पूर्व मन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्र देवलाई नैतिक रुपमा जिम्मेवार ठहर्याएको छ।