– श्रीविलास दाहाल
नेपालको ठूलो, राजनीतिक पार्टीहरूलाई पथ प्रदर्शन गर्ने नेपाली कांग्रेसले जागरण अभियान चलाएको छ। यो त राम्रो कुरो हो। तर, यो जागरण अभियान हो कि? कुम्भकर्णको निन्द्राको निरन्तरता? रावणको भाइ कुम्भकर्ण त छ महिनामात्र मस्त सुत्छ भनिन्थ्यो र आवश्यक परे युद्धमा उठ्ने गर्थे। तर, कांग्रेस भने खाली चुनावका बेला मात्र उठ्ने गर्छ। अरू बेला ‘मस्तराम, कता जाउँ, कता कमाउँ र कता रमाउँ’मा मस्त रहन्छ। जय नेपाल जोरसँग भने पुग्यो।
चुनावमा चैँ कांग्रेस झल्याँस्स ब्यूझिन्छ। आफ्ना वर्गीय संगठनका चुनावमा कांग्रेसीहरूको फूर्ति हेर्नुपर्छ, अचम्मै लाग्छ। चुनावपछि मूली दुईचार जना सक्रिय देखिन्छन्, अरू कता हुन्छन्, के गर्छन् थाहापत्तो हुँदैन। महाधिवेशनको चुनाव भने कुम्भ मेला नै हुन्छ। एउटा महाधिवेशनमा एउटा स्टैण्ड लिएको नेता अर्को चुनावमा कोसँग कता गठबन्धन बनाउँदा शुभलाभ हुन्छ, त्यसै गइसकेको हुन्छ। लाजै छैन। यो जागरण अभियानलाई आलोचना गर्नेको पनि कमी छैन। सभापतिले आफ्नो एक वर्षे कार्यकाल बढाउने योजनाअन्तर्गत चलाइएको भन्ने पनि छन्।
कांग्रेस प्रारम्भदेखि भारतबाटै प्रेरित पार्टी हो। कोइरालाहरूलाई चन्द्रशेखरले ओथारो हालेकै हुन्। बरु चन्द्रशेखरको भारतयात्राकै नक्कल गरेको भए राम्रो हुने थियो। २०३६ सालपछिका निराश भएका धेरै कार्यकर्ता जोडिने थिए। नयाँ बेरोजगार पनि थपिने थिए। नेपाली कांग्रेस संगठनको मूलमन्त्र भनेको कसरी संगठन बलियो हुने भन्ने होइन, त्यो त छँदै छैन, कसरी ‘म’ बलियो हुने, कल, छल, बल, तन, मन, धन सबै त्यसैमा ‘मम’गरेर लाग्छन्। अन्त्यमा कति होनहार नेता, कार्यकर्ता, म्याउँ–म्याउँ गर्दै अनेक शक्ति केन्द्रमा पुग्छन्। राम्ररी प्रारम्भदेखि सूक्ष्म अध्ययन गर्ने हो भने कांग्रेसी नपुगेको गाउँ र पार्टी छैन होला नेपालमा। यस्तो बारबार किन हुन्छ?
यो किन हुन्छ भनेर कसैलाई सोच्ने फर्सद पनि छैन। ढोका खुला छोडेर, जो पाइयो, जहाँबाट पाइयो ल्याएर धेरै टाउका देखाएर नहुँदो रहेछ। गएको आम चुनावले प्रस्ट देखाएको छ। तैपनि चेतना छैन। सबैले कांग्रेसलाई उल्लु बनाए, प्रचण्ड, बाबुराम, उपेन्द्र, कमल थापा सबैले आफ्नो दुना सोझ्याए, कांग्रेसलाई चित बनाए।
बाममोर्चा र नेपाली कांग्रेस मिलेर सञ्चालन गरिएको प्रजातन्त्रको पुनःस्थापनाको आन्दोलनले गति लियो। पञ्चायती व्यवस्था धराशयी पनि भयो। राजाले प्रधानमन्त्री हुनुहोस् भन्दा पनि उहाँले मान्नु भएन। सरकार पार्टीमा मभन्दा पनि राम्रा मान्छे हुनुहुन्छ भनेर कृष्णप्रसाद भट्टराईलाई अघि सार्नुभयो।
अलिकति पर जाउँ, २०३६ सालको जनमत संग्रहपछि त नेपालको वातावरण अलिकति खुला छ नि? त्यतिबेला पनि कांग्रेसले कम्युनिष्टप्रति, राजदरबारप्रति, अरू त अरू राजा महेन्द्रले ल्याएको पञ्चायत व्यवस्थाप्रति उदारता देखाएकै हो। राजाले सुधारिएको पञ्चायत कि बहुदलीय? भन्दा बीपीले कुनै पूर्वाग्रह राख्नुभएन। ठूलो कुरा प्रजातान्त्रिक अभ्यास हो। जनताले धेरै वर्षपछि यो अभ्यास गर्न पाएका छन्। तर, त्यसबेला पनि क्रान्तिकारी भनिने नक्सलाइट कम्युनिष्टहरूले पहेँलो पञ्चायतमा भोट हाले र राजालाई बलियो बनाए।
त्यसपछिका दश वर्ष पनि कांग्रेसीहरू आफू बलियो हुने, सरकारमा जाने क्रम चलिरह्यो। आफू बलियो हुने क्रममा नेतात्रय मिलेर पार्टी चलाउने गणेशमानजी, किसुनजी, गिरिजाबाबुलाई बीपीले छोडेर जानुभएको अनि तत्कालीन पार्टीका महामन्त्री स्वंय गिरिजाबाबु विकल्प खोज्न राजाको सल्लाहमा देशभर भौँतारिनुभयो। झन्डै मण्डलेहरूले बाटोमै सिध्याएका थिए। त्यसपछि बल्ल गिरिजाबाबु माले, मसाले, मण्डले एकै ड्याङका मूला हुन भन्न्न थाल्नुभयो। नेपाली कांग्रेसका कार्यकर्ता विचलन नहुन् भनेर धेरै सोचविचारपछि गणेशमानजीले सत्याग्रहको कार्यक्रम घोषणा गर्नुभयो। गिरिजाबाबु सत्याग्रहको पक्षमा हुनु हुन्थेन। किसुनजी र गणेशमानजीको निर्णय मान्न बाध्य हुनुभयो। सत्याग्रहले कमाल देखायो, सत्याग्रह सजिलो पनि थियो । गिरफ्तारपछि प्रहरीले विनाठोकठाक जेल लान्थ्यो।
रामराजाप्रसाद सिंहको ‘बमकाण्ड’ले सत्याग्रहको कार्यक्रम बिथोलियो। पछि रामराजाजीको क्रियाकलापले उहाँ पनि कांग्रेसलाई समाप्त गर्ने ग्य्राण्ड डिजाइनकै एक प्यादा हुनुहुँदो रहेछ भन्ने नै सिद्ध भयो। उहाँका कार्यकर्ता यत्रतत्र बिथोलिए। धेरैले दुःख कष्ट पनि पाए। नेपालको यो लोकतन्त्रको समुद्र मन्थनमा जहिले पनि कांग्रेसका भागमा चैँ ‘हलाहल’ विष मात्रै पर्नुपर्ने, अमृत त परै जाओस् वारुणी मदिरा पनि छैन। सर्वप्रथम बीपीले आफू बाँचुञ्जेल हलाहल विष घाँटीमा क्यान्सरका रूपमा बोकेर हिँड्नुभयो, ‘विभिन्न जातजाति भएको नेपाल, आखिर स–साना राज्य एकीकरण गरेर गोर्खाली राजाले नेपाल बनाए, त्यसो भएर त्यो राष्ट्रको एकताको प्रतीक राजतन्त्र, विकासका लागि प्रजातन्त्र।’
दोस्रो हलाहल तत्कालीन सर्वोच्च र सर्वमान्य नेता गणेशमान सिंहले पिउनुभयो। कम्युनिष्टहरूसँग कार्यगत एकता अर्थात् संयुक्त आन्दोलन गर्र्नु हुँदैन भन्ने बीपीको लाइनबाट पर हटेर कार्यक्रम बनाउनुभयो। बाममोर्चा र नेपाली कांग्रेस मिलेर सञ्चालन गरिएको प्रजातन्त्रको पुनःस्थापनाको आन्दोलनले गति लियो। पञ्चायती व्यवस्था धराशयी पनि भयो। राजाले प्रधानमन्त्री हुनुहोस् भन्दा पनि उहाँले मान्नु भएन। सरकार पार्टीमा मभन्दा पनि राम्रा मान्छे हुनुहुन्छ भनेर कृष्णप्रसाद भट्टराईलाई अघि सार्नुभयो।
कांग्रेसको यो पुनःजागरण अभियान सिद्धान्त र कर्मनिष्ट कार्यकर्ता निर्माण गर्नेमा केन्द्रित हुनुपर्ने थियो। यसका कार्यक्रम हेर्दा त्यस्तो देखिँदैन, समग्रमा निराश बनाउने खालका छन्। पुराना परम्परा, चुनाव, कुनै दिवस, महाधिवेशन उद्घाटन, महासमिति उद्घाटन जस्ता कार्यक्रममा हल भर्ने परम्परा देखिएकै हो।
कोइराला परिवारप्रतिको मोह हो वा भय, या के हो? कृष्णप्रसाद भट्टराईले गिरिजाप्रसादलाई नियन्त्रण र निर्देशन गर्न सक्नुभएन। नेपाली कांग्रेसको बहुमतको सरकार मध्यावधिमा जान बाध्य भयो। मध्यावधिपछि राज्यका अनेक सम्पत्ति दोहनमा पहिलेदेखि पल्किएका माफिया र कम्युनिष्टले आज देशको लोकतन्त्र र त्यसका मूल्य मान्यतालाई ध्वस्त पार्न लागिपरेका छन्। आज देशको जंगल, जमिन, मठ–मन्दिर, बैंक, मानव तस्करी, यातायात, सिडिकेट कहाँ चाहिँ माफियाको पहुँच र दोहन छैन। सरकार बनाउने र बिगार्ने भइसकेका छन्।
कृष्णप्रसाद भट्टराईले अन्तरिम प्रधानमन्त्रीका रूपमा २०४७ सालको संविधान लेखन र दलीय आधारमा चुनाव सम्पन्न गराउनुभयो। विधिवत् रूपमा नेपालमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको जग पनि बसाल्नु भयो। तर, कांग्रेसमा गणेशमान र भट्टराईलाई गिरजाबाबुको कांग्रेसले सभामा राख्न सकेन। तर, प्रारम्भमा सत्ताको जेजस्ता मोह र मदले गिरिजाबाबुले कांग्रेसाई लथालिङ्ग बनाए पनि अन्त्यमा त उहाँ पनि कम्युनिष्टको ‘हलाहल बिष’ पिउन बाध्य हुनुभयो। आफैले गणतन्त्र स्थापना गरेर नारायणहिटी राजदरबारलाई संग्रहालय बनाई संसारबाट बिदा हुनुभयो। शेरबहादुरजीलाई पनि फकाएर नेपाली कांग्रेसमा ल्याएर पार्टी एक बनाएर जानुभयो। यो काम त्यति सहज थिएन।
नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाका लाखौँ गल्ती होलान् तर नेतात्रयले भविष्यमा कांग्रेसलाई हाँक्नसक्ने शेरबहादुर देउवा नै हो भन्ने पहिले नै चिनेका थिए। केही समयका लागि सुशील उदाएका हुन्। उनको मृत्यु पनि कालगतिले भएको हो या भएन भन्ने आज पनि शंकाकै विषय बनिरहेको छ। आजको नेपाली कांग्रेस एकल नेतृत्वमा नै चल्ने पार्टी हो।
शेरबहादुर देउवाकै पालामा वर्षौंदेखि पार्टीका भ्रातृ संगठनहरू महिला संघ, नेविसंघ, तरुण दल आदिको चुनाव भएका छन्। महासमिति, महाधिवेशन पनि भएकै छन्। अहिलेको जागरण अभियानको सोच पनि उनकै पालामा आयो । काम गर्दै जाँदा जश, अपजश र आलोचना सबै हुन्छन्। त्यस्ता प्रतिक्रियालाई सुन्न र खेप्न पनि सक्नुपर्छ। स्वास्थ्य अवस्था र संगठनको प्रकृति हेर्दा कांग्रेसको आगामी कार्यकाल पनि देउवाले नै हाँक्ने छाँटकाँट देखिन्छ।
तर, कांग्रेसको यो पुनःजागरण अभियान सिद्धान्त र कर्मनिष्ट कार्यकर्ता निर्माण गर्नेमा केन्द्रित हुनुपर्ने थियो। यसका कार्यक्रम हेर्दा त्यस्तो देखिँदैन, समग्रमा निराश बनाउने खालका छन्। पुराना परम्परा, चुनाव, कुनै दिवस, महाधिवेशन उद्घाटन, महासमिति उद्घाटन जस्ता कार्यक्रममा हल भर्ने परम्परा देखिएकै हो। यसबाट जुझारु र सिद्धान्तनिष्ट कार्यकर्ता जन्माउन सकिन्न। नेताहरूका एक–आपसमा घोचपेच र अन्तरद्वन्द्व कायमै छन्। जागरणको काठमाडौँ सभाले नै निराश बनायो। कार्यक्रममा देउवा र प्रकाशमानबीच दोहोरी नै चल्यो।
यसरी कसरी हुन्छ? अन्य कार्यक्रम जस्तो एउटा आमसभा गरेर कस्तो जागरण आउँछ? कार्यकर्तालाई प्रशिक्षित बनाउने र बन्ने कुरा त यसमा देखिएन। जिल्ला सभापति र कोषाध्यक्षहरूका सम्मेलन भर्खरै हुन थालेका छन्। जागरण र प्रशिक्षण कार्यक्रम त तल्लो तहसम्म पुग्नुपर्ने हो। आम कांग्रेसजनले त प्रतिक्रिया दिइनै सके, तल ठीक छ, माथि मिल्नुहोस्।