नरहरि पाैड्याल, पोखरा – समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारको आयु लामो नभएको बताएका छन्। पोखरामा शुक्रबार समाजवादी पार्टीको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सरकारले देशको हित हुने कुनै पनि काम नगरेकाले कम्युनिष्ट सरकार छिट्टै ढल्ने बताए।
उनले भने, ‘जनतामा जुन प्रकारको निराशा छ। देशमा कुशासन र भ्रष्टाचार चुलिँदैछ। जनपक्षीय काम नै भएको छैन। यो नाम मात्रैको कम्युनिष्ट सरकार हो।’
अहिलेको कांग्रेस र कम्युनिष्ट पार्टीले देशलाई सही गन्तव्यमा पुर्याउन नसक्ने उनले ठोकुवा गरे। ‘कम्युनिष्टहरु वर्गविहीन समाजवाद ल्याउँछौँ भन्थे तर उनीहरुमा झनै ठूलो स्वार्थ पैदा भयो,’ उनले भने, ‘हिजो चप्पल लाउन नसक्ने नेताहरुको रातारात जीवन फेरियो। तपाईंका घरदैलोमा आएर जडौरी लुगा लाएर हिड्नेहरु अहिले आलिसान महलमा बसेका छन्।’ जनताको अवस्था झनै दयनिय हुँदैगएको समेत उनले टिप्पणी गरे।
पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले ०५२ साल अघिका पार्टीले नेपाली राजनीतिको नेतृत्व गर्न नसक्ने बताए। ‘अब कांग्रेसको युग सकियो। उसले स्वतन्त्रतामा आधारित लोकतन्त्र ल्याउन भूमिका खेलेकै हो। उसलाई धन्यवाद दिनुपर्छ,’ उनले भने, ‘कम्युनिष्ट पनि अत्यन्त अलोकतान्त्रिक र अधिनायकवादी चरित्रतर्फ लागिरहेको छ। गणतन्त्रसम्म लैजानका लागि कम्युनिष्टले सहयोग गरेकै हो। तर कम्युनिष्टले देशको नेतृत्व गर्ने दक्षता देखाएन।’
भट्टराईले आफ्नो पार्टीको विरुद्ध गरिएको प्रचारमा काउण्टर दिन कार्यकर्तालाई आग्रह गरे। कसैले गलत नियतले कुनै पनि कार्य गरेको अवस्था तुरुन्त काउण्टरमा लाग्न निर्देशन दिए। ‘सबै साथीहरु सक्षम भएर लाग्नुस्,’ उनले भने, ‘हरेक काममा प्रतिक्रिया हुन्छ। हाम्रा विरुद्धमा दुष्प्रचार गरिरहेका छन्। त्यो अपेक्षाकृत छ। तर हिजो बन्दुकसँग खेलेर आएको मान्छे शब्दसँग को डराउँछ?’