काठमाडौँ – अर्थविद्हरुले संघीयता बलियो बनाउने खालको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बजेट विशेष साक्षात्कारमा बोल्दै पूर्व मुख्य सचिव डा. विमल कोइरालाले कर्मकाण्डी र अग्ला अग्ला प्रतिज्ञा गर्ने खालको बजेट ल्याउन नहुनेमा जोड दिए।
साक्षात्कारमा बोल्दै कोइरालाले भने, ‘यसअघिका बजेटहरु प्रचारबाजी र प्रियतावादका लोभले गाँजेको थियो। पूरा नहुने कुरा धेरै हुन्थे। बजेटको पुस्तिका फोहोर भयो।’ संघीयताको आभाष नहुने बजेट ल्याउन नहुने उनको सुझाव छ। सरकारले जनतासामू देखाएको आशा पूरा गर्नुपर्नेपनि उनको भनाई छ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले संघीयतालाई जोडदार रुपमा कार्यान्वयन गर्ने खालको बजेट आउनुपर्ने सुझाव दिए। क्षेत्रीले संघले ठूला–ठूला आयोजना, प्रदेशले मझौला र स्थानी सरकारले सानातिना आयोजनाहरु हेर्नेगरि बजेट ल्याउन सरकारलाई सुझाए। उनले खर्च गर्न नसक्ने बजेट ल्याउन नहुनेपनि तर्क गरे।
विगतमा एक सातामा कुल बजेटको ११ प्रतिशत बजेट खर्च भएको तितो सुनाउँदै बजेटको कार्यान्वयनको अनुगमनमा पनि विशेष जोड दिनुपर्ने धारणा राखे। त्यस्तै, रकमान्तर गर्ने कुरापन िसंवेदनशील रहेकोले यसतर्फपनि सरकार सचेत हुनुपर्ने उनको भनाई छ।
अर्का अर्थविद् डा. चन्द्रकान्त पौडेलले योजना आयोगको १५ औँ योजनासँग अब आउने बजेट हार्मोनाईज हुनुपर्नेमा जोड दिए। उनले पपुलिष्ट र महत्वकांक्षी बजेट ल्याउन नहुने सुझाव दिए। उनले भने, ‘साहसपूर्ण प्रस्तुति हुनुपर्छ। समाजवादी अर्थतन्त्रको लक्षण देखिनुपर्छ। अहिलेको बजेट समाजवादी बजेट आउने संकेत प्राप्त भएको छ।’