पोखरा - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका एक सय ५५ जिल्ला सदस्यले शपथ लिएका छन्। पार्टी एकीकरणपछि पूर्व नेकपा एमाले र माओवादीका तर्फबाट भागबण्डा मिलाएर नयाँ कमिटी बनाइएको हो।
सहमतिपछि बनाइएको नयाँ कमिटीबाट सपथ लिनेहरूमा पूर्व नेकपा एमालेका ८८ र माओवादी केन्द्रका ६७ जना छन्।
उनीहरुलाई पार्टीका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज एवम् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ गराएका हुन्।
सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री गुरुङले नेकपाको अन्तिम लक्ष्य समाजवादसम्म पुग्ने भए पनि त्यसका लागि अहिल्यै हतारो गर्न नहुनेमा जोड दिए।
समाजवादसम्म पुग्नका लागिबीचमा धेरै तयारी गर्नुपर्ने भन्दै उनले सामन्तवादको अवशेषलाई कानुनी प्रक्रियाबाट अन्त्य गरिरहेको दाबी गरे।
दुई पार्टी एकतापछि लामो समय पार्टी अन्यौलमा रहेको बताउँदै उनले अहिले बिस्तारै पार्टीले गति लिन थालेकालेको बताए।
युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्कर्माले दुई ठूला पार्टीको एकतापछि कम्युनिष्ट पार्टी स्थापनाको लक्ष्य पूरा गर्ने ऐतीहासिक अवसर प्राप्त भएको बताउँदै समृद्धिको अभियानलाई निर्णायक विन्दुमा पु¥याउने गरी नेता कार्यकर्ता परिचालित हुुनुपर्ने बताए ।
स्थायी कमिटिका सदस्य सोमनाथ अधिकारी (प्यासी), प्रदेश कमिटिका सचिव गोविन्द नेपाली, कास्की अध्यक्ष कृष्ण थापा तथा सचिव बखानसिँह गुरुङले पार्टी र सरकारबीच सहकार्य र समन्वयका साथ अघि बढ्नुपर्ने धारणा राखेका थिए।
सफत ग्रहण पछि बसेको पहिलो बैठकले गण्डकी प्रदेशको राजधानी पोखरालाई राष्ट्रकै नमूना राजधानी बनाउन एकमतका साथ प्रदेश सरकार र स्थानीय तहलाई सहयोग गर्न जिल्ला कमिटी लाग्ने निर्णय गरेको छ।