काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस र अभिव्यक्ति स्वतन्त्रता निस्तेज र नियन्त्रण गर्ने खेलमा वर्तमान सरकार लागेको आरोप लगाएको छ। २६ वैशाखमा संसदमा दर्ता गरिएको मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपालको संविधानको प्रस्तावनाकै शब्द, भावना र मर्मको प्रतिकुल रहेको उसको ठहर छ।
मिडिया काउन्सिलसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे सोमबार पार्टी कार्यालयका आयोजना गरिएको पत्रकार सम्मेलनमा कांग्रेसले संविधानको प्रस्तावनामै ‘पूर्ण प्रेस स्वतन्त्रता’ लेखिएको जनाउदै प्रेस जगतलाई नियमन गर्ने नाममा प्रेस स्वतन्त्रतालाई कुनै पनि ढंगले असर नपुर्याउन चेतावनी दिइएको छ।
प्रेस स्वतन्त्रताविरोधी विधेयकहरुका विरुद्धमा संसदमा नेपाली कांग्रेस प्रखर ढंगले उभिने पनि विज्ञप्तिमा जनाइएको छ। ‘विधेयकले सोझै भारी अंकको जरिवना तय गर्नु न्यायोचित विल्कुलै छैन नै, काउन्सिलको विश्वव्यापी स्थापित परम्पराभन्दा विल्कुलै विपरीत पनि छ,’ विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रेससम्बन्धी कुनै पनि कानून निर्माण गर्दा नेपाल पत्रकार महासंघ लगायतका सरोकारवाला संस्थाहरुसंग कुनै विमर्श नगर्नु गैरजिम्मेवार शैली मात्रै होइन, अधिनायकवादी प्रवृत्ति पनि हो। नेपाली कांग्रेस यसको तीव्र निन्दा गर्दछ।’