काठमाडौँ – सभामुख कृष्णबहादुर महराको निर्देशनपछि नीति तथा कार्यक्रम पारित गर्ने दिन वैशाख २४ गते सदनमा प्रयोग भएका गैरसंसदीय शब्द सङ्घीय संसद् सचिवालयको अभिलेखबाट हटाइएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको प्रारम्भमै सभामुखले सो दिन प्रयोग भएका शब्दका बारेमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै सचिवालयलाई उक्त निर्देशन दिएका थिए।
सोही क्रममा नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले सभामुखको रुलिङप्रति सम्मान व्यक्त गर्दै नीति पारित गर्ने दिन जिज्ञासाका क्रममा अरु पनि गैरसंसदीय शब्द प्रयोग भएका भन्दै सबै शब्द अभिलेखबाट हटाउन माग गरेका थिए।
सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गैर संसदीय शब्द प्रयोग गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको थियो।