काठमाडौँ, २५ पुस। इन्डोनेसियाको फुटबल लिग च्याम्पियन पर्सिजा जाकर्ता क्लबले नेपालका मिडफिल्डर रोहित चन्दसँगको सम्झौता थप गरेको छ।
यस अघि रोहितको सो क्लबसँगको सम्झौता २०१८ डिसेम्मरसम्म थियो। रोहितले इन्डोनेसियाको फुटबल लिगमा त्यहाँको पर्सिजा जाकर्ता क्लबबाट खेल्दै लिग उपाधि जिताउनुका साथै प्रतियोगिताकै उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल भएका थिए।
पर्सिजा व्यवस्थापनले विज्ञप्ति जारी गर्दै रोहितसँगको सम्झौता थप गरिएको पुष्टि गरेको हो। पर्सिजाका प्रबन्ध निर्देशक जेडे विडिएडेद्वारा जारी विज्ञप्तिमा रोहितसँग सम्झौता थप गर्ने निर्णय गरेको उल्लेख छ। विज्ञप्तिमा उत्कृष्ट खेलाडी रोहित अझै पर्सिजाका लागि आवश्यक भएको उल्लेख गरिएको छ।
रोहित अहिले बिदा मनाउन नेपालमा छन्। सम्झौता थप गर्ने क्लबको निर्णयसँगै अब छिट्टै जकार्ता जाने रोहितले ट्वीटमार्फत बताएका छन्। सन् २०१७ पर्सिजामा मासिक तीन हजार ५०० अमेरिकी डलरमा अनुबन्धित भएका थिए। त्यससँगै सबैभन्दा धेरै कमाउने नेपाली फुटबल खेलाडी हुन सफल भएका थिए। एन्फा एकेडेमीका उत्पादन रोहितले सन् २००९ देखि व्यावसायिक फुटबल खेल्न थालेका हुन्। मच्छिन्द्र क्लबबाट फुटबल खेल्न थालेका उनी पहिलो सिजनमै उत्कृष्ट डिफेन्डर घोषित भएका थिए।