दोलखा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व कृषिमन्त्री रामकृष्ण यादवले जनतालाई ढाट्नेभन्दा बढी सरकारले केही काम नगरेको आरोप लगाएका छन्। ढाँट र भ्रष्टाचारीहरुको संरक्षक बालुवाटारमा बसेको उनले आरोप लगाए।
घरबाट बाहिर निस्किएपछि फर्कने होकि होइन भन्ने त्रासले अहिले हरेक मानिसलाई सताउने गरेबाट सरकारको शान्ति सुरक्षाको स्थिति कस्तो छ भन्ने कुरा प्रष्ट भएको उनले बताए। नेपाली कांग्रेस दोलखाले बुधबारबाट पहिलो चरणको हिमाल, पहाड तराई (मधेस) राष्ट्रिय जागरण अभियानको शुरुआत कार्यक्रममा बोल्दै यादवले रुखले कुनै साल बेस्सरी फल दिने अनि कुनै साल कम फल दिएजस्तै एउटा निर्वाचन हार्दैमा निराश नहुने कार्यकर्तालाई आग्रह पनि गरे। सरकारद्वारा नियमित हुनुपर्ने कामलाई पनि दुई तिहाईको दम्भमा बंग्याएर ‘उल्टो विकास’ लाद्न खोजेको उनले आरोप लगाए।
कांग्रेस सभापति रुद्रबहादुर खड्काले दोलखाको दीर्घकालीन विकासको शुरुआत नेपाली कांग्रेसले नै गरेको दावी गरे। केन्द्रीय कार्य समितिको निर्णय अनुसार कांग्रेसको एक महिने जागरण अभियानको दोलखामा सदरमुकाम चरिकोटबाट शुरुआत गरिएको हो।
कार्यक्रमलाई नेपाली कांग्रेसका पूर्व सभापति ताराबहादुर कोइराला, देवीप्रसाद न्यौपाने, कांग्रेस नेता इश्वर नारायण मानन्धर, बर्मा लामा, केशवराज चौंलागाइँ, नेवि संघका पूर्व महामन्त्री कुन्दनराज काफ्ले लगायतले सम्बोधन गरेका थिए। जागरण अभियान नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काको सभापतित्वमा आयोजना गरिएको थियो।