इटहरी– अन्ततः प्रदेश १ को राजधानी बिराटनगर नै भयो। आन्दोलनरत पक्ष र प्रदेश सरकारबिच सोमबार विराटनगरमा भएको सहमति अनुसार राजधानी बिराटनगरनै हुने टुङगो लागेको हो। विराटनगरमा पनि कार्यपालिका, व्यवस्थापिका लगायत केही संरचना बाहिर लैजाने भएपछि विरोध भयो र सहमतिमा बिराटनगर नै तोकियो।
राजधानीका दाबेदार मानिएका इटहरी, धरान, धनकुटा र गोठगाँउ मध्ये धरान र धनकुटाले राजधानी विराटनगर तोकिएकोमा आपत्ति प्रकट गर्दै विरोधका कार्यक्रम सञ्चालन गर्न थालेका छन्। धनकुटालाई राजधानी बनाइएन भनेर धनकुटावासीले आन्दोलन मच्चाएका छन्। ‘धनकुटालाई प्रदेश १ को राजधानी बनाऔँ’ अभियान समितिको संयोजनमा विरोध सुरु भएको हो। जसअन्तर्गत स्थानीयले मङ्गलवार दिउसोँ धनकुटास्थित जिरो प्वाइन्टमा १ घण्टा चक्काजाम गरेका थिए भने बेलुकी ७ ‘ब्ल्याक आउट’ (बत्ती निभाएका) गरेका छन्।
धनकुटाको आवाजलाई बेवास्ता गरिएकाले आन्दोलन गर्नुपरेको भन्दै समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले आन्दोलन निरन्तर चल्ने बताए। ‘धनकुटालाई पुरै समाप्त पार्ने, मार्ने काम भएको छ,’ उनले भने, ‘राजधानी घोषणा भएको दीनलाई कालो दिनको रूपमा मनाउछौ।’
धरानमा पनि राजधानीको माग गर्दै प्रदर्शन भएको छ। प्रदर्शनकारीहरुले टायर बाल्ने, विभिन्न नारा जुलुस गर्नेलगायतका गतिविधी गरेर बिरोध जनाएका थिए। प्रदर्शनका क्रममा दुई विद्यार्थी घाइते पनि भए। संसदमा धरानलाई राजधानीको प्रस्ताव वा धरानमा पनि संरचना ल्याउने भनेर प्रस्ताव दर्ता नगरिएकोले आन्दोलनमा उत्रिएको बताइएको छ। धरानमा पनि आन्दोलन जारी राखिने बताइएको छ।
धरान र धनकुटाको विरोध चर्किदा इटहरी र गोठगाँउ भने शान्त छ। इटहरीलाई राजधानी बनाउने प्रतिबद्धता जाहेर गरेका इटहरी उपमहानगरपालिकाका मेयर सहितको राजधानी सरोकार समितिको टोलीले नमुना मतदानदेखी आन्दोलनसम्मको चेतावनी दिएको भएपनि अहिले मौन नै छन्।
इटहरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सैलेश विष्ट भने नीतिगत ढङ्गले इटहरी अगाडी बढ्ने वताउछन्। ‘राजधानीमा इटहरीको पनि सम्बोधन भएका छ,’ उनी भन्छन्, ‘आन्दोलन सबै कुराको समाधान नभएकाले इटहरी शान्त भएको हो।’ केही सदस्यलाई बुधबार केन्द्रमा पठाएर राजधानीको लागि उपयुक्त जग्गा मुख्यमन्त्रीलाई वुझाउने बताउदै उनले थपे, ‘व्वस्थापिका आउने गरी निचोड पनि निस्किएको छ। त्यसमा पनि सांसदको बहुमत इटहरीसँगै छ। किन विरोध र आन्दोलन गर्ने र विरोधले समाधान त हुँदैन नि।’
उता मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको गोठगाँउले पनि राजधानीको दावेदारी प्रस्तुत गरेको थियो। तर राजधानी विराटनगर भईरहदा गोठगाँउ पनि शान्त नै छ।