विराटनगर - प्रदेश नम्बर १ को स्थायी राजधानी अन्तत: विराटनगर नै हुने भएको छ । विराटनगरमा आन्दोलनरत पक्ष र प्रदेश सरकारबीच सोमबार विराटनगर रोड शेष चोकस्थित बिग होटलमा भएको वार्तामा उक्त सहमति भएको हो ।
सहमतिअनुसार कार्यपालिका, व्यवस्थापिकालगायत सम्पूर्ण संरचनाहरूसहित स्थायी राजधानी विराटनगर राख्ने सहमति भएपछि विराटनगर नै स्थायी राजधानी बन्ने पक्का भएको हो ।
सोमबार दिउँसो भएको सर्वपक्षीय वार्तामा मुख्यमन्त्री शेरधन राईले राजधानी विराटनगरमा नै रहने र कार्यपालिका र व्यवस्थापिकाको संरचना पनि विराटनगरभन्दा बाहिर नलैजाने प्रतिवद्धता जनाएसँगै अनिश्चितकालील आन्दोलन पनि फिर्ता भएको छ ।
वार्तामा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश राजधानी विराटनगरमा नै रहने र व्यवस्थापिका र कार्यपालिकाका संरचना पनि विराटनगरभन्दा बाहिर नलैजाने मुख्य मन्त्री र प्रदेश सांसदहरूको प्रतिबद्धतापछि विराटनगर बन्द आज सोमबार दिउँसो ४ बजेपछि फिर्ता गर्ने सहमति भएको जानकारी दिए ।
मुख्यमन्त्री राई र सांसदहरूले संसदमा राजधानीको विषयमा दर्ता भएको प्रस्तावमाथि परेका संशोधन प्रस्तावहरू पनि फिर्ता लिने प्रतिवद्धता जनाएको प्रमुख सचेतक कार्कीले बताए ।
आइतबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलले प्रदेश १ को स्थायी राजधानी विराटनगर राख्ने निर्णय गर्दै कार्यपालिका र व्यवस्थापिकाको संरचना विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासको क्षेत्रमा राख्ने गरी राजधानीको प्रस्ताव प्रदेशसभामा औपचारिक रूपमा दर्ता गराएको थियो ।
यसअघि सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश नं. १ को राजधानी विराटनगर राखे पनि विकेन्द्रित गर्न खोजेको भन्दै विराटनगर महानगरवासी अनिश्चितकालीन बन्द आव्हान गर्र्दै आन्दोलनमा उत्रिएका थिए ।
प्रदेश सरकारले छलकपटपूर्ण तरिकाले राजधानी अन्यत्र सार्ने षड्यन्त्र गरेको भन्दै विकेन्द्रित नगरी विराटनगरलाई नै स्थायी राजधानी तोक्न माग गर्दै आइतबार विराटनगर महानगरपालिकाको अगुवाइमा भएको सर्वपक्षीय बैठकले आन्दोलनमा जाने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सोमबार बिहानैदेखि बन्द हड्तालसहित ठाउँ ठाउँमा प्रदर्शन गरिएको थियो ।