धनकुटा – प्रादेशीक राजधानीका लागि धनकुटाको पक्षमा मतदान सरोकारवालाहरुले आग्रह गरेका छन्। धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउन प्रस्ताव दर्ता भएकोमा धनकुटा प्रादेशिक राजधानी अभियान समिति लगायत धनकुटाका राजनीतिक दललगायत विभिन्न संघ–संस्थाहरुले यस्तो आग्रह गरेका हुन्। आइतबार छुट्टाछुट्टै बिज्ञप्ती प्रकाशित गरी उनीहरुले प्रदेश सभाका सांसदहरुलाई धन्यवाद दिदै धनकुटाको पक्षमा सवै ९३ जना प्रदेश सभा सदस्यहरुलाई मतदान गर्न आग्रह गरे।
प्रदेशको राजधानी बन्न धनकुटा सवै किसिमले उपयुक्त रहेको भन्दै १ नम्वर प्रदेशका जनताको भावना अनुरुप प्रदेश सभामा धनकुटाको प्रतिनिधित्व गर्ने सांसदहरुले अन्य जिल्लाका सांसदहरुको सहयोगमा धनकुटालाई राजधानी बनाउन २ वटा प्रस्ताव दर्ता गराएका थिए। पहिलो प्रस्तावक सांसद लिला सुब्बा र दोस्रो प्रस्तावक सांसद निरन राईलाई सहित सवै समर्थकहरुलाई धनकुटा प्रादेशिक राजधानी अभियान समितिका संयोजक सुन्दरबाबु श्रेष्ठ, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै धन्यवाद ज्ञापन गरेका थिए। साथै उनीहरुले १ नम्वर प्रदेशका सबै सांसदहरुलाई धनकुटालाई मतदान गर्ने वातावरण तयार गर्न लबिङ्ग गर्न समेत आग्रह गरेका छन्।
प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस धनकुटाका नेता लिला सुब्बाले प्रदेश सभा सदस्य तथा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य सांसद आर. सी .तुम्बा र नेपाली कांग्रेस ताप्लेजुङ्गका नेता तथा सांसद प्रकाश प्रताव हाङ्गजामको सर्मथनमा १ नम्वरमा पहिलो प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए। यसैगरी नेकपा धनकुटाका यूवा नेता तथा प्रदेश सभा सदस्य सांसद निरन राईले प्रदेश सभा सदस्य तथा नेकपाका नेता इन्द्रमणी पराजुली र प्रदेश सभा सदस्य तथा नेकपा धनकुटाकी यूवा नेता कुसुम कुमारी श्रेष्ठको सर्मथनमा २ नम्वरमा धनकुटालाई राजधानी बनाउने दोस्रो प्रस्ताव दर्ता गराएकी थिईन्।
धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउने २ वटा प्रस्तावका साथमा विराटनगर र वृहत विराट क्षेत्र गरी जम्मा ४ वटा प्रस्ताव राजधानीका लागि १ नम्वर प्रदेश सभा सचिवालयमा दर्ता भएको प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले बताए।
प्रस्ताव दर्तासंगै धनकुटालाई राजधानी बनाउनका लागी आफुहरुले तिव्र रुपमा लबिङ्ग गर्न शुरु गरेकोले अन्तिम समयसम्म जस्तो सुकै परिस्थितिमा पनि अभियान जारी राख्ने प्रस्तावकहरु प्रदेश सभा सदस्यहरु निरन राई र लिला सुब्बाले वताए।