डी. आर. बन्जाडे, बुटवल– प्रदेश नं. ५ को स्थायी राजधानीका बारेमा निर्णय प्रकृया लम्बिने भएको छ। स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न गठित विशेष समिति मातहतको उपसमितिले प्रतिबेदन मुल समितिमा दिएपनि मुल समितिले विज्ञहरुसँग छलफल गर्ने भएपछि राजधानीको विषय लम्बिने भएको हो। यद्यपी नामका बारेमा भने ‘लुम्बिनी’ राख्ने प्रस्ताव गरिएको छ।
आइतबार बसेको विशेष समितिको बैठकले नाम र राजधानीका लागि विज्ञहरुको राय सुझाव लिने निर्णय गरे पछि प्रकृया लम्बिने भएको हो। अव बर्षे अधिवेशनमा बजेट प्राथमिकतामा पर्ने हुँदा पनि त्यो अधिवेशनमा राजधानी र नामाकरणको विषय प्रवेशको सम्भावना कम छ। अर्को हिउँदे अधिवेशनसम्मका लागि प्रकृया धकेलिएको विश्लेषण हुन थालेको छ। सचिवालयले अब विज्ञ समिति गठन गरी सुझाव लिएपछि मात्रै मुल समितिको प्रतिवेदन तयार हुनेछ।
उपसमितिले दिएको प्रतिवेदनमा राजधानीका लागि रुपन्देही, दाङ र नाममा लुम्बिनी रहेको छ। १२ वटै जिल्लाबाट संकलन भएका १३ सय १२ सुझावको गणना गरेर जिल्ला तोकिएको छ। सुझावमा सबैभन्दा बढी दाङले ५ सय ५३ मत पाएको छ भने रुपन्देहीले ३५० पाएको स्रोतले बताएको छ।
विशेष समितिका सभापति दीपेन्द्र कुमार पुन मगरले विज्ञ समिति गठनका लागि सचिवालयलाई आग्रह गर्ने निर्णय गरिएको बताए। ‘कार्यविधिमा नै विज्ञहरुसँग छलफल गर्नु भन्ने व्यवस्था छ, सोही अनुरुप काम गर्ने निर्णय भएको छ,’ उनले भने।