डी. आर. बन्जाडे, बुटवल – प्रदेश नम्वर ५ को प्रदेशसभाको तेस्रो अधिवेशन मध्यराती १२ बजेबाट समाप्त हुने भएको छ। प्रदेश सरकारको शिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले संसद सचिवालयलाई औपचारिक पत्र पठाउनेछन्। त्यससँगै अइतवार मध्यरातबाट तेश्रो अधिवेशन समाप्त गर्ने निर्णय गरेको जानकारी प्रदेश सभालाई गराएपछि तेस्रो अधिवेशन अन्त्य हुने भएको हो ।
मंसिर २३ गतेदेखि सुरु भएको तेश्रो अधिवेशनसम्म आइपुग्दा प्रदेश सभाबाट ३८ वटा बिधेयक पारित गरिसकेको छ। यसअघि तेस्रो अधिवेशनको अन्तिम बैठकमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ आधारभूत कानून निर्मार्ण गर्न सफल भएको बताए। उनले कानून निर्माणको हिसावले ७ वटै प्रदेशहरुको तुलनामा प्रदेश ५ पहिलो स्थानमा रहेको दावी समेत गरे।
मुख्यमन्त्री पोखरेलले संघीय सरकारले साझा सूचीका कानुन नबनाउँदा प्रदेश सरकारले कानुन बनाउन नपाएको बताए। ‘हामीले कानून निर्माणमा राम्रो सफलता हात पारेका छौँ। प्रदेशसभा धन्यवादको पात्र बनेको छ। सातैवटा प्रदेशहरुको तुलनामा कानून निर्माणका हिसावले हामी १ नम्वर बन्न पुगेका छौँ।’ मुख्यमन्त्री पोखरेलले भने, ‘कतिपय साझा सूचीका कानून, संघिय सरकारले निर्माण गर्न ढिलाई गर्दा प्रदेशमा ढिलाई भएको छ।’
मुख्यमन्त्री पोखरेलले यो वर्ष आवधिक योजनाको वर्ष र कानुन निर्माणको वर्षका रुपमा लिएको प्रदेश सरकारले आगामी वर्षमा प्रदेश समृद्धिको यात्रा सुरु गर्ने बताए। त्यसका लागि प्रदेश सरकारले आधारभूत पूर्वतयारी स्वरुप सबै पक्षसँग छलफल गरेर अघि बढिरहेको उनले बताए।
शुन्य संरचनाबाट प्रदेश सरकार अघि बढेको प्रसंग जोड्दै मुख्यमन्त्री पोखरेलले १ सय ४७ वटा कार्यालय स्थापना गर्न सफल भएको बैठकमा सुनाए। मुख्यमन्त्री पोखरेलले वैशाख अन्तिममा प्रदेश विकास परिषद् मार्फत स्थानीय तहसँग समन्वय गरेर स्थानीय तहको बजेटलाई समेत प्रभावकारी बनाउनका लागि सुझाव दिने बताए।