रामपुर – नेपाल सरकारले एक करोड रुपैयाँ भन्दा कम रकमका विकास निर्माणका योजनामा डोजर प्रयोग नगर्ने निर्णय गरेपनि पाल्पाको रैनादेवि छहरा गाउँपालिकामा भने यो निर्णय कार्यान्वयन भएको छैन।
गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष नै डोजर मालिक भएकाले सो निर्णय कार्यान्वयन नभएको हो। सरकारले गत फागुन १ गतेदेखि कार्यान्वयन हुनेगरी उक्त निर्णय गरेको थियो।
अहिले गाउँँपालिकाका वडा नं. ७ र ८ मा पर्ने चिसापानीदेखि हात्तिगौंडासम्म मोटरबाटो चौडा गराउने काम भइरहेको छ। निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्र्तगत १५ लाख रुपैयाँको सो योजनाको काम जारी रहेको छ। उक्त योजनाका लागि १५ दिन अघिदेखि डोजर प्रयोग गरेर काम थालिएको छ।
काम अन्तिम चरणमा पुगेको वडा नं. ८ का वडा अध्यक्ष थमान रानाले जानकारी दिए। उनले भने, ‘डोजर प्रयोग गर्ने नगर्नेबारे गाउँपालिकाले कुनै निर्णय गरेको छैन, यो बजेटको काम पनि गाउँपालिकामार्फत नै गरिएको हो।’
वडा नं. ७ मा पर्ने बल्ढेङ्गढीको खड्केनीपोखरामा पनि हाल सात लाख बजेटमा बाटो निर्माणमा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीकै डोजर चलिरहेको स्थानीयले बताएका छन्। बल्ढेङ्गढीकै गहतेमा पनि १२ लाख बजेटको बाटो अध्यक्ष कार्कीकै डोजर प्रयोग गरेर निर्माण काम गरिएको छ। दुईसाता अघि मात्र उक्त काम सकिएको छ।
बल्ढेङ्गढीकै चिदीपानीमा दुई लाखको बजेटमा पनि वडा अध्यक्ष देवेन्द्र पुनका भिनाजुको डोजर प्रयोग गरेर करिब एक किलोमिटर नयाँ बाटोको ट्रयाक खोलिएको छ। गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले भने, ‘काम गर्ने जनशक्ति नभएकाले होला त्यसो गरिएको, कहाँ के भइरहेको छ म बुझौंला।’
स्थानीयका अनुसार अध्यक्ष कार्की र उनका आफन्तका गरी आधा दर्जन डोेजरले गाउँपालिकाभित्र काम पाएका छन्। आठ वडा रहेको गाउँपालिकाभित्र अध्यक्षसहित चार वडा अध्यक्षको डोजरमा लागानी रहेको स्थानिय भुवन रायमाझिले जानकारी दिए। (रासस)