विराटनगर - प्रदेश १ को स्थायी राजधानी र नामको टुंगो लगाउने अन्तिम तयारी भईरहेको छ। यसै समयमा खम्बुवान राष्ट्रिय मोर्चा नेपाल मोरङ जिल्ला समितिले प्रदेश १ को नाम खम्बुवान, लिम्बुवान नामाङ्कन गर्न माग गरेको छ।
खम्बुवान जिल्ला समितिले जिल्ला प्रशासन कार्यालयमार्फत प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएको छ। जिल्ला समितिका पदाधिकारीहरु सम्मिलित टोलीले आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत मुख्यमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो।
खुम्बुवान राष्ट्रिय मोर्चाका मोरङ अध्यक्ष रणेन्द्र थिम्राहाङले प्रमुख जिल्ला अधिकारी केसीलाई ज्ञापनपत्र हस्तान्तरण गरे। मोर्चाद्वारा पठाइएको ज्ञापनपत्रमा प्रदेश एकको नामाङ्कन गर्दा जातीय पृष्ठभूमिको आधारमा राजनीतिक अधिकार सहितको खम्बुवान, लिम्बुवान नामाङ्कन गर्न माग गरिएको छ।
नेपालमा २ सय ३८ वर्षदेखि जातिय असमानता र विभेदको अन्त्य गर्नलाई एकात्मक शासन प्रणालीको अन्त्यगरी संघात्मक शासन प्रणालीमा प्रवेश गरेको तर संघीयतामा जानुको मर्मलाई बेवास्तागर्दै हचुवाको भरमा सात प्रदेश कायमगरि संघीयतालाई तुहाउन खोजिएको दाबी गरिएको छ।
यस्तै संविधान लेख्दा भएको भूललाई केही हदसम्म सच्याउन प्रदेश एकलाई खम्बुवान, लिम्बुवान नामाङ्करण गर्न जोडदार माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ।
प्रदेशका सबै जिल्लाबाट एकैपटक प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेश सरकारलाई सो विषयको ज्ञापनपत्र बुझाइएको मोर्चाका सचिव राजुदेव राईले जानकारी दिए।