काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम नारामै सीमित हुने बताएका छन्। सरकारको आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममाथि आइतबारबाट संसदमा शुरु भएको छलफलमा भाग लिँदै देउवाले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘नीति तथा कार्यक्रम खोक्रो सावित भएको छ। नतिजा दिने खालको छैन। एक वर्षको नीति तथा कार्यक्रममा २ वर्ष, ४ वर्ष, २५ वर्षका कार्यक्रम कार्यक्रम छन्। कुनै कार्यक्रममा त वर्ष नै तोकिएको छैन। त्यसैले नीति तथा कार्यक्रम नारामा मात्रै सीमित हुनेमा कुनै शंका छैन।’
उनले आश्वासन बेचेर सत्तामा आएको कम्युनिष्ट सरकारको काम गर्ने गति र शैलीले जनता ठगिएको महसुस गरिरहेका दावी गरे। उनले भने, ‘भ्रष्टाचार बढेको छ। लगानीको वातावरण भएन। हरेक क्षेत्रमा अनावश्यक रुपमा कर बढाइएको छ। संवैधानिक निकायमा हस्पक्षेत हुँदा शक्ति सन्तुलन खल्बिलिएको छ। सरकारका हरेक क्रियाकलापले जनता निराश भएका छन्।
१२ महिनै चल्ने सडक चल्ने बनाउनु पहिलो आवश्यकता हुनुपर्नेमा सरकारले सडकमै पानी जहाज ल्याण्ड गर्ने उडन्ते कुरा प्राथमिकतामा राखेको भन्दै देउवाले व्यङग्य गरे।
पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका कांग्रेस सभापति देउवाले सम्मानित राष्ट्रपतिको संस्थालाई सरकारले बेलाबेलामा विवादमा तान्दै आएको भन्दै असन्तुष्टि जनाए।
‘सम्मानित राष्ट्रपतिको संस्थालाई सरकार आफैले पटक–पटक विवादमा तान्दै आएको छ। बेलायतकी महारानीको शैलीमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लगाएर विवादमा तान्यो।’, उनले भने, ‘यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभ संकेत हैन।’ राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को दुबै सदनको संयुक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरा सरकार’ भन्ने शब्द प्रयोग गरेपछि आलोचना भइरहेको छ।