काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले चालू आर्थिक वर्षमा विकास सम्भव छ र हाम्रै पालामा सम्भव छ भन्ने विश्वास पैदा जनाउँदै दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार भएको बताएकी छन्।
हरेक दिन एक कदम अगाडि बढ्ने शैलीका कारण समृद्धिको आधार तयार गर्न सरकार सफल भएको उनले उल्लेख गरिन्। सङ्घीय संसद्को आजको बैठकमा सरकारको आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले एकीकृत राष्ट्रिय तथ्याङ्कको ढाँचा तयार भएको तथा लगानी सम्मेलन र मित्र राष्ट्र चीन एवं अन्य मुलुकको उच्चस्तरीय भ्रमणबाट अन्तरराष्ट्रिय सम्बन्धको विकास र लगानीमैत्री वातावरण सिर्जना भएको बताइन्।
वर्तमान सरकार गठनपछि राष्ट्रिय अखण्डता र एकता सुदृढ भएको, पुनःनिर्माण उल्लेखनीय भएको, एक हजार किमी सडक कालोपत्र भएको, थप ३ सय पुलको निर्माण सम्पन्न भएको र डिजिटल नेपालको कार्यढाँचा तयार भएको तथा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको कार्यक्रममा उल्लेख छ।
जनता आवास सुविधा उपलब्ध गराइएको, विद्यालय बाहिर रहेकामध्ये ८१ प्रतिशत विद्यार्थीलाई भर्ना गरिएको, प्राविधिक विद्यालय स्थापना शुरु भएको, १६ लाख नेपालीको स्वास्थ्य बीमा गरिसकिएको र भारत र नेपाल जोड्ने रेलमार्ग निर्माणको प्राविधिक कार्य सम्पन्न भएको कार्यक्रममा जनाइएको छ। (रासस)